केन्द्रीय महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसको संस्थापनइतर (पौडेल समूह)पक्षलाई साझा उम्मेदवार टुंग्याउने विषय टाउकोे दुखाइ भएको छ । महाधिवेशनमा सभापतिका प्रत्याशी मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले लचकता देखाए पनि नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला भने सभापतिको अडानबाट टसमस भएका छैनन् ।
वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइरालाले ‘त्याग’ गर्ने बताएर दुईमध्ये एकजनालाई साझा उम्मेदवार बनाउन कसरत गरिरहेका छन् । तर, प्रकाशमान र शेखर एकले अर्काका लागि त्याग गर्ने पक्षमा देखिएका छैनन् ।
उनीहरूको ढिपी जुनसुकै हालतमा मै हुनुपर्ने भन्नेमा छ । यही अडानमा नेताहरू रहेपछि बुधबारसम्ममा सभापतिको साझा उम्मेदवार सार्वजनिक गर्न संस्थापनइतर पक्ष असफल भएको छ ।
सिंह निवास चाक्सिबारीमा बसेकोे बैठकपछि फरकधारसँग कुरा गर्दै नेता डा. रामशरण महतले तत्काल साझा उम्मेदवार तयार हुने अवस्था नदेखिएको बताए । उनले भने, ‘मिल्ने स्थिति अहिले देखिएन । म पनि उठ्छु भन्याछन् । म पनि उठ्छु भन्याछन् । एकैजना सभापति उठ्ने निर्णय भएको छैन ।’
सोमबारदेखि निरन्तर चार नेता संवादमा छन् । एक्लाएक्लै अघि बढ्दा शेरबहादुर देउवालाई सभापति हुनबाट रोक्न नसकिने निष्कर्षको आधारमा साझा उम्मेदवार तयार गर्नमा उनीहरूको जोडबल छ ।
यस्तै, बुधबार बिहान साझा उम्मेदवारबारे राय, सल्लाह र सुझाव लिन काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केन्द्रीय सदस्य, वर्तमान, निवर्तमान, पूर्वसभापतिसँगै प्रदेशका सभापतिहरूको भेला भएको थियो ।
उक्त भेलापछि दिउँसो तीन बजे बसेको बैठकले साझा उम्मेदवार तय गर्ने अनुमान थियो । तर, भएन ।
छलफलका क्रममा नेता सिंह मैले मात्रै त्याग गर्नुपर्ने ? भन्दै कड्किएका थिए । ‘अघिल्लोपटक पनि त्याग गरेँ । यसपटक म त्याग गर्नेवाला छैन,’ सिंहको भनाइ थियो, ‘शेखरजी तपाईंले मलाई साझा उम्मेदवार बन्न त्याग गर्नुहोस् । यदि हुँदैन भने एक्लै भए पनि लड्छु ।’
शेखरले भो बैठकमा देशभर आफ्नो पक्षमा जनमत रहेको र जित्न सक्ने उम्मेदवार भन्दै दाबीबाट पछि नहट्ने बताएका थिए ।
बैठकमा सहभागी नेता गुरूराज घिमिरेले भने साझा उम्मेदवार तयार गर्ने विषय साँघुरिँदै गएको बताए ।
यसअघि आठ नेताले आकांक्षा देखाएकोमा घटेर चार नेता हुँदै अन्ततः दुई नेतामा झरेकाले साझा उम्मेदवार तयार हुने उनले विश्वास गरे । तर, कहिलेसम्ममा भन्ने पत्रकारहरूको प्रश्नमा उनले छिटोभन्दा छिटो टुंग्याइने बताए ।
दबाबका लागि बिहीबार चार दाबेदारविनाको बैठक
बिहीबार बिहान ८ बजे सभापति पदका चार दाबेदारविनाको बैठक अनुपम फुडल्याण्डमै बस्दै छ । सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता जीवन परियारले साझा उम्मेदवारबारे बैठकमा व्यक्त राय र सुझाबले एकल उम्मेदवार तय गर्न सहयोग पुग्ने फरकधारलाई बताए ।
यद्यपि, नेताहरू पछि हट्ने मनस्थितिमा छैनन् । बुधबारको बैठकमा सहभागी एक नेताका अनुसार सिंह र कोइरालाबीच कुरा नमिले पौडेलले आफूलाई अघि सार्न प्रस्ताव गर्ने भएका छन् । यसमा पनि सहमति नजुटेको अवस्थामा भने नेताहरू एक्लाएक्लै सभापति पदको मैदानमा देखिनेछन् ।
यसअघि १६ भदौमा नेता पौडेलले यिनै नेताहरूलाई सँगै राखेर छिट्टै सभापति पदका साझा उम्मेदवार सार्वजनिक गर्ने बताएका थिए । उनले त्यसो भनेको तीन महिना नाघ्यो र महाधिवेशन हुन दुई दिन मात्रै बाँकी रहँदासम्म सभापतिको साझा उम्मेदवार तय भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।