उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिनअघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो । राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो ।
व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।
स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ । हिउँले गाउँभरी सेताम्मे भएको र बाटोसमेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।