कांग्रेस महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीमा क-कसको दाबी ?

भोलिदेखि सुरु हुने कांग्रेसको १४औं महाधिवेशनकाे तयारी तीब्र छ । पदाधिकारीका आकांक्षीहरू दौडधूपमा रहेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक सभापति पदका लागि तयारी गरिरहँदा सुदूरपश्चिमका दोस्रो तहका कांग्रेस नेताले महाधिवेशनमा पदाधिकारीको दौडमा छन् । 

कञ्चनपुर कांग्रेसका नेता एवं केन्द्रीय सदस्य नारायणप्रकाश साउद (एनपी)ले महामन्त्री पदका लागि उम्मेदवारी दिने तयारीसहित काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालन गरेर चुनावी गतिविधि बढाएका छन् । सभापति देउवानिकट मानिने साउदले आफू महामन्त्री पदको उम्मेदवार नबने पनि आफू निकट नेता तथा कार्यकर्तामार्फत् प्रचारप्रसार अघि बढाइरहेका छन् । 

यस्तै कांग्रेस कञ्चनपुरका अर्का नेता एवं केन्द्रीय सदस्य रमेश लेखक पनि १४औं महाधिवेशनमा पदाधिकारीको दौडमा छन् । उनको दाबी पनि महामन्त्री पदमै रहेको एक कांग्रेस नेताले बताए । कञ्चनपुरमा नेता लेखकको निर्वाचन क्षेत्र नं ३ र साउदको २ नम्बरमा राम्रो प्रभाव रहेको मानिन्छ । 

बाजुराबाट यसअघि सहमहामन्त्रीमा कांग्रेस नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारलाई अघि बढाएका छन् । उनी रामचन्द्र पौडेल अर्थात् संस्थापन निकट नेता मानिन्छन् ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा पार्टीमा राम्रो पकड बनाएका संविधानसभा सदस्य दिवान विष्टले पनि केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । संस्थापनइतर समूहसित नजिक मानिएका विष्टले यसपटक जिल्लास्तरसम्मको निर्वाचनमा भने नेता साउदसित चुनावी तालमेल गरेका थिए ।

विसं २०३२ को सरोफेरोबाट कांग्रेसको राजनीतिमा रहेका नेता विष्ट १४औं महाधिवेशनमा आइपुग्दा सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट कांग्रेस नेता केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् ।



दार्चुला, बैतडी क्षेत्रमा राम्रो पकड बनाएका कांग्रेस केन्द्रीय सदस्य तथा कानुनमन्त्री दीलेन्द्रप्रसाद बडूले पनि केन्द्रीय पदाधिकारीमा आकांक्षा देखाएको उनी निकट नेताको भनाइ छ । पौडेल समूहबाट सहमहामन्त्री पदमा बडूको नाम उम्मेदवार आकांक्षीका रूपमा आउने गरेको भए पनि उनी टिमसँग छलफल गरी अघि बढ्ने मनिस्थितिमा रहेको बुझिएको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार दिने तयारी अघि बढाएका छन् । कैलालीको टीकापुरबाट कांग्रेस नेता एवं प्रदेशसभा सदस्य डा.रणबहादुर रावलले पनि केन्द्रीय सदस्यमा उम्मेदवार घोषणा गरेका छन् ।



उनले महाधिवेशनमा सुदूरपश्चिम प्रदेश (भूगोल) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । यस्तै डोटीका युवा नेता पुष्पकुमार शाहीले समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

यसअघि सुदूरपश्चिमको प्रदेश सभापतिमा उम्मेदवारी दावी गरेका शाही बीरबहादुर बलायरलाई अगाडि सारेपछि ब्याक भएका थिए ।

कांग्रेस कञ्चनपुरकी नेत्री एवं महिला संघ केन्द्रीय सदस्य रमिता शाही देउवाले पनि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ९:२४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया