सबै क्षेत्रमा विद्युतीय साधनकाे उपयाेग गर्नुपर्छ : मन्त्री भुसाल
फाइल फाेटाे

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्ताे बताएकी हुन् ।

सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा पुगेको उनकाे भनाइ छ।

मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत खपत गराउने र सबै उर्जामा विद्युतीय उर्जा उपयोग गर्ने अभियानका रूपमा रूपान्तरण गर्दै लैजानु पर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउनुले अब हामी घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितिमा छौं । अहिले आमजनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रीय प्रशारण लाइन पुग्ने छैन, त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासंघमार्फत् त्यो अभियान पूरा गर्नेछौं । अब फेरि हामी नयाँ ठाउँमा आएका छौं । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामीले ऊर्जाका सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउनु पर्छ ।’ 

‘उपभोक्ता महासंघको अब नयाँपन र औचित्यता बढीभन्दा बढी विद्युत खपत गराउने र सबै उर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा यसले आफूलाई रूपान्तरण गरोस् ।  एउटा बेलाको एउटा आवश्यक्ता पूरा गरेर हामीले सधैँ त्यसैमा रहन सक्यौं भने हामी राम्रो स्तरमा हुन्छौं । अहिलेको विद्युतको कुरा गर्दा अग्रगमन भनेको उर्जाका सबै चाहे घरेलु होस्, चाहे उद्योग होस् । सबै ठाउँमा विद्युतीय साधनहरू र विद्युतको खपत गर्ने कुरालाई अभियानको रूपमा यहाँहरूले बढाउनु हुनेछ ।  सरकार, नेपाल विद्युत प्राधिकरण, सामुदायिक विद्युत उपभोक्ता महासंघसित सहकार्य गरेर जानेछ । यसमा मन्त्रालय, सरकार र प्राधिकरण सकारात्मक रहेको विश्वास दिन चाहन्छु’, भुसालले थपिन् ।



मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरूले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरूको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको पनि बताइन् ।



  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १२:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया