कांग्रेस सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा
फरकधार / २३ मंसिर, २०७८
फाइल फाेटाे

कांग्रेस नेता मीन विश्वकर्माले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । 



नेता विश्वकर्माले विहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु हुदैछ । यो महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री हुने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले बताए ।



उनी सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा १२औं र १३औं महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन् । हाल प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मा पूर्व वाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन् । 



‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईंहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’

उनले कांग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गरे । 

उनले भने, ‘कांग्रेस जन्मिँदैदेखि समावेशीतालाई जोड दिएको थियो, दलित समुदायको लागि मात्रै होइन, समग्र समावेशी समूहका लागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन्। अहिलेको समावेशी संविधान जारी गर्ने कुरामा पनि कांग्रेसको अमूल्य योगदान छ।’

उनले बिपीले विवेकबाट सुरु गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले विधानमार्फत् कार्यान्वयनमा लगेको बताए । 

‘कांग्रेसको संगठन विस्तार हुँदै गर्दा त्यो बेला समावेशी विधान थिएन, संविधान पनि थिएन । तर, बिपीले कांग्रेसलाई समोवशी बनाउनुभएको थियो,’ उनले भने, ‘अहिले संविधानमात्रै होइन, कांग्रेसको विधान पनि समावेशी छ । र, कांग्रेस पनि समावेशी छ, त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १२:१९:२४,   अन्तिम अपडेट : मंसिर २३, २०७८ बिहीबार १२:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया