तिक्तता मेटाउँदै साउद र लेखक, देउवाले दिए मिल्न निर्देशन

नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक । वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ-आफ्नै उम्मेदवार भिडाए ।

जिल्ला सभापतिमा एनपी खेमा छाडेर रमेश खेमामा लागेका पदम बोगटी निर्वाचित भए । एनपीका सारथी संविधानसभा सदस्य बहादुरसिंह थापा पराजित भए । पार्टीको प्रदेश कार्यसमितिमा पनि यी दुई नेताबीच चर्को गुट देखियो । जसकारण सभापति शेरबहादुर देउवाको आग्रहमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर साझा उम्मेदवारका रूपमा प्रदेशमा झर्नुपर्‍यो । उनी प्रदेश सभापति बने ।

वडादेखि प्रदेश कार्यसमितिसम्म देखिएको साउद र लेखकको गुटगत तिक्तता, प्रतिस्पर्धा केन्द्रीय महाधिवेशनमा भने मत्थर भएको देखिएको छ । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकपछि दुवै नेता भलाकुसारी गरिरहेको भेटिए । बैठकपछि बाहिर निस्किने क्रममा तेस्रो तलामा एनपीले रमेशलाई बोलाउँदै भने, 'अहिले ४ बजे बैठक बस्ने भनेका छौँ । त्यहाँ आउनुहोला ।' जवाफमा रमेशले भने, 'ए । हुन्छ म आउँछु । सरसल्लाह गर्नुपर्छ ।'

खासमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट बनाउनुपर्ने केन्द्रीय सदस्यको नामावली टुंगो लगाउन एनपीलाई निर्देशन दिएका थिए । आफ्नो टिममा केन्द्रीय सदस्यका उम्मेदवार टुंग्याउन देउवाले एनपीलाई नेताहरूसँग छलफल गर्न दिएको निर्देशनअनुसार एनपीले रमेशलाई आग्रह गरेका हुन् । उक्त आग्रहलाई सकारात्मक रूपमा लिँदै रमेशले हुन्छ भनेका हुन् ।

अहिले धोवीखोलाको एक रिसोर्टमा एनपी, रमेश, प्रदेश अध्यक्ष वीरबहादुर बलायरलगायत नेताहरु प्रदेशबाट केन्द्रीय सदस्य छान्न बसिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १७:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया