महामन्त्रीमा क–कसलाई रोज्लान् देउवाले ?

सभापतिपछि महामन्त्री पदलाई कांग्रेसमा शक्तिशाली पद मानिन्छ । दोस्रो पुस्तादेखि तेस्रो पुस्तासम्मका नेताहरूको दाउ यही महामन्त्री पदमा छ । विधानतः महामन्त्री हुने भनेको दुईजना हो । जसलाई पार्टीमा सांगठनिक नेतृत्त्वको जिम्मेवारी छ ।

कांग्रेस संस्थापन पक्षबाट महामन्त्री पदमा हालसम्म पाँचजना देखिएका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री एनपी साउद र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीका लागि आकांक्षा देखाएका छन् । 

सभापति देउवा पार्टी संगठनमा बलियो पकड भएका नेतालाई महामन्त्री बनाउन चाहन्छन् । जुन स्वाभाविक पनि हो । संयोग, संस्थापन पक्षबाट महामन्त्री पदका दाबेदार यी पाँचै जना नेताको राजनीतिक पृष्ठभूमि नेपाल विद्यार्थी संघसँग जोडिएको छ ।

कार्की २०३९ मा नेविसंघको तदर्थ समिति अध्यक्ष थिए । उनै कार्की नेतृत्वमा भएको अधिवेशनबाट अध्यक्ष बलबहादुर केसी भए पनि दाबेदार महत थिए । पाँचौँ महाधिवेशनबाट खाण, छैटौँबाट साउद र आठौँ महाधिवेशनपछि शर्मा अध्यक्ष भएका थिए ।

कांग्रेस नेता उत्पादनको दृष्टिले नर्सरी भनिँदै आएको नेविसंघको उच्च तहमा पुगेका यी नेताहरू संगठक पनि हुन् । तर, बढी पकड भएका संगठक महामन्त्री बन्ने सम्भावना धेरै रहेको देउवानिकट स्रोतले जनाएको छ । 

हुन त बुधबार खाणले घुमाउरो पारामा महामन्त्रीको दाबेदारी देउवासामु प्रस्तुत गरेका थिए । तर, उनकै गृहजिल्ला रुपन्देहीमा संस्थापनपक्षका नेताहरूले पार्टीको तल्ला तहको निर्वाचनमा पराजय बेहोरेका छन् । प्रदेश सभापति पनि संस्थापनइतर पक्षमा गएको छ । यस आधारमा उनलाई कति रुचाउला देउवाले टुंगो छैन । 



अर्का नेता साउद पनि संगठनमा बलियो पकड भएकामध्येका नेतामा गनिन्छन् । तर, उनको पनि संगठन प्रभाव पछिल्लो समय कमजोर बन्दै गएको बताइन्छ । नेता महतलाई सभापति देउवाको विश्वास पात्रमध्येका हुन् ।

उनले भनिसकेका छन्, ‘उहाँ (सभापति देउवा) ले ग्रिन सिग्नल दिएपछि मेरो महामन्त्री पदमा उम्मेदवारी हो ।’ उनी देउवाको कोर टिममा अटाउन सक्ने ठानिन्छ । 



नेता कार्कीले बुधबार बूढानीलकण्ठमा बसेको बैठकमा दाबेदारी प्रस्तुत नगरेको नेता भीष्मराज आङ्देम्बेले बताए । यद्यपि उनले आफूनिकटहरुसँग महामन्त्रीको उम्मेदवारी दिने बताउँदै आएका छन् । 

‘ज्ञानेन्द्रजीले बैठकमा दाबेदारी प्रस्तुत गर्नु भएन । तर, आकाङ्क्षी चाहिँ हुनुहुन्छ’, सहमहामन्त्री पदका दाबेदारसमेत रहेका उनले भने, ‘अहिलेसम्म को–को महामन्त्री भन्ने टुंगिएको छैन । टुंगिएको भनेको सभापतिमा मात्रै हो ।’

संस्थापन पक्षमा यी चार नेताबाहेक अर्का प्रभावशाली नेता छन्, शर्मा । उनलाई प्रवक्ताको जिम्मेवारी देउवाले बनाएका हुन् । उनको उम्मेदवारी घोषणा संस्थापन पक्षमा दाबेदार रहेकामध्येमा पहिलो हो । 

कांग्रेस रुपान्तरणको राजनीतिक प्रस्ताव पनि उनको सार्वजनिक भइसकेको छ । पत्रकारिता पनि पृष्ठभूमि रहेका उनको पछिल्लो समय भने सभापति देउवासँग चित्तदुखाइ रहेको निकटस्थ एक नेताले बताए ।

त्यस आधारमा उनले यही महाधिवेशनमा कित्ता परिवर्तन गर्न सक्ने पनि आशंका कतिपयमा छ । यस्तो अवस्थामा थुमथुम्याउन देउवाले महत्त्वपूर्ण सांगठानिक जिम्मेवारी भएको महामन्त्री बनाउन पनि सक्छन् । 

तर, मंगलबार भने देउवाले शर्मालाई सहमहामन्त्री बन्न प्रस्ताव गरेको खबर सञ्चारमाध्यमहरूमा आएको थियो । आकांक्षी बढी हुँदा महामन्त्री थप्ने चाहना तर विथोलियो ।

महामन्त्रीसँगै पदाधिकारीको अन्य पदमा आकांक्षी अधिक हुँदा देउवाले एक महामन्त्री, खुलामा दुई सहमहामन्त्री र केही संख्यामा सदस्य थप गर्न चाहेका थिए । 

बूढानीलकण्ठमा बुधबार बसेको आफूपक्षीय नेताहरूको बैठकबाट देउवाले समर्थन जुटाएका थिए । त्यसपछि बिहीबारको केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने भनिएको थियो । 

यो थाहा पाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठक बहिष्कार गरे । पौडेलकै कारण देउवाको चाहना पूरा हुन सकेन ।

जसले गर्दा देउवालाई पदाधिकारीमा आकांक्षी भएका नेताहरूको व्यवस्थापनमा समस्या हुने देखिएको छ । देउवा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि ल्याएर व्यवस्थापन गर्ने पक्षमा छन् । 

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १८:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया