ढुक्क देउवा, यी तीन कारणले इतर पक्ष निरास
फरकधार / २३ मंसिर, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुनेछ । महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाकालगायत विषयमा विचार मन्थन हुनुपर्ने भए पनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको पाइन्छ ।



१३औँ महाधिवेशनमा विजयी सभापति देउवा पुनः अर्को पाँच वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष उनीबाट नेतृत्व फुस्काउने दाउमा रहेको छ । देउवालाई यसअघि दह्रो साथ दिएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै देउवा केही कमजोर भएको भन्दै उत्साही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन नजिकएसँगै निरास बन्दै गएको छ । 

इतर पक्षमा निराशा छाउनुका तीन कारण 



पहिलो, संस्थापन पक्षमा देउवाको विकल्पमा अन्य कोही सभापतिको आकांक्षामा नरहँदा उनी बलिया देखिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि विभिन्न तहमा भएका निर्वाचन, जिल्ला र क्षेत्रका सभापतिमा देउवा बलियो देखिएको बेला उनको मत काट्ने खालको उम्मेदवार नहुँदा उनी कमजोर छैनन् । उनलाई पराजित गर्न ‘एकमन एकता’ हुनुपर्ने पौडेल पक्षले बुझेको छ। तर, त्यसो हुन सकिरहेको छैन । 



दोस्रो, इतरपक्षमा चारजना सभापतिका आकांक्षी छन् । गत महाधिवेशनमा देउवासँगै पराजय बेहोरेका रामचन्द्र पौडेल, कोइराला परिवारको उत्तराधिकारी ठान्ने शेखर र शशांकका साथै बारम्बार त्याग गर्दै आएको बताउने प्रकाशमान सिंह। चारैजनाले सभापतिको दाबेदारी नछाड्दा साझा उम्मेदवार बनाउने प्रयास कमजोर बन्दै गएको हो कि भन्ने आशंका देखिएको छ । 

प्रकाशमानले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । उनले प्रतिनिधिले नै अब टुंगो लगाउने बिहीबार बताएका छन् । शनिबार आफूले उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ । 

‘कांग्रेसको रक्षा गर्ने नै कोइरालाले हो’ भन्दै आफू पक्षधरले भनेपछि शेखर कोइराला प्रकाशमान उठे पनि आफू पछि नहट्ने बताइरहेका छन् । दुवैजना उम्मेदवारीबाट पछि नहट्ने हो भने इतरपक्षको मत महाधिवेशनमा विभाजन हुने छ । यसले गर्दा विशेषगरी देउवालाई पार्टीको कमाण्डबाट बिदा गर्न चाहिरहेका, इतर पक्षका नेता–कार्यकर्तामा निराशा छाएको छ । यद्यपि, नेताहरु सघन छलफलमा रहेकाले साझा उम्मेदवार चयन हुने सम्भावना भने बाँकी नै रहेको छ । 

इतर पक्षमा साझा उम्मेदवार चयन हुन नसक्दा देउवा भने ढुक्क देखिएका छन् । उनी निकटका नेताहरुले त देउवाले पहिलो चरणमै जित निकाल्ने भएकाले गत महाधिवेशनमा जस्तो यसपटक दोस्रो चरणमा निर्वाचन गर्नु नपर्ने अवस्था आउने बताइरहेका छन् । 

तेस्रो, नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म संस्थापन वा इतर पक्ष कता लाग्ने वा आफैँ प्यानल बनाएर महाधिवेशनमा भिड्ने भन्ने खुलाएका छैनन् । सहयोग माग्न भनेर बुधबार उनको निवास पुगेका नेता पौडेललाई उनले सकारात्मक जवाफ दिएनन् । त्यसमा पनि उनी पक्षका अधिकांश नेताले संस्थापन पक्षसँग मिलेर अघि बढ्नुपर्ने सुझाब दिइरहेका छन् ।

महाधिवेशन प्रतिनिधिको संख्याका हिसाबले धेरै नभए पनि अन्तिम प्रतिस्पर्धामा उनी निर्णायक बन्न सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ । इतर पक्षमा आफूहरुबीच नै नेतृत्व बाँटफाँटमा समस्या भइरहेको बेला उनीतर्फका नेताको व्यवस्थापन त्यति सहज बन्ने देखिएको छैन । यसअघि पार्टीमा विवाद हुँदा इतरपक्षसँग नजिक रहने गरे पनि निर्णायक बेलामा सिटौलाले देउवालाई साथ दिँदै आएका छन् । 

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २२:४४:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया