कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र माधवले गर्लान् एउटै मञ्च 'सेयर' ?

सत्तासीन नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडाैंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।  दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गर्नेछन् ।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडाैं आइसकेका छन् ।

कांग्रेस महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने यसअघि नै कांग्रेस नेता प्रकाशशरण महतलाई बाचा दिइसकेका छन् ।

तत्कालीन नेकपाकाे किचलो र त्यसपछिकाे विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।



महाधिवेशनमा निर्वाचन कार्यतालिका 

पार्टीको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे गर्ने जनाएको छ ।



समितिका अनुसार मनोनयन दर्ता २५ गते (भाेलि) बिहान १० देखि साँझ ५ बजेसम्म, दाबी विरोध र जाँचबुझ २५ गते (भाेलि) र साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय हुने मङ्सिर २५ गते साँझ ७ देखि ८ बजेसम्म हुनेछ । 

उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ८ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे भनिएकाे छ । 

मतदान भने २७ गते बिहान ८ बजेदेखि हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ७:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया