कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगद राहत दिने

कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आगलागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिए । उनका अनुसार घरधनीसहित घरभाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइनेछ ।

पूर्ण घर क्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकाले दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख ५० हजार र तीन करोडभन्दा माथि क्षति भएकाले चार लाख राहत रकम पाउने छन् । यस्तै, आंशिकघर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार,  २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले ५० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट ७५ हजार राहत पाउने प्रवक्ता विष्टले बताए ।

आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले ३० हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले ५० हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले ७५ हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन् । तर, घरभाडा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले ४० हजार र ५० लाखभन्दा माथि क्षति भएकाले ६० हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको छ । 

गत २९ कार्तिकमा छायाँनाथ रारा नगरपालिका-१ को गमगढी बजारमा आगलागी हुँदा २१ घरमा क्षति पुगेको थियो । आगलागीबाट घरभाडामा बस्ने ३५, व्यवसायी २६, पूर्ण घरक्षति २० र आंशिक घर क्षति भएका चार जना विस्थापित भएको प्रदेश सरकारले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया