कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा देखिएका राेचक १८ दृश्य

सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा सवा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए । 

नेताहरूबीच शुभकामना आदानप्रदानको क्रममा केही रोचक दृश्यहरू भने देखिएका छन् ।

१. महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए । 

२. कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे । 

३. सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए । पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे । 

४. दलहरूबीच पछिल्लो दिन बढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्बाेधनका क्रममा एक अर्काको नाम लिएनन् । 



५. शुभकामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सिपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम संचालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट नै दिनुपर्‍याे । हर्षवर्द्धनले यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफूले कहिल्यै नदेखेको भन्दै भाषण लम्ब्याएका भने सिपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए । 

६. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शकदीर्घामा ताली बज्यो । तर, प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शकदीर्घामा उसैगरी ताली बजेको थियो । 



७. उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् । 

८. कार्यक्रममा सबैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । सधै लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रूपमा छोटो भाषण गरे । 

९. उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सिपी मैनालीले सरकारका कामकारवाहीको खुलेर आलोचना गरे । जबकि राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए । 

१०. लोसपा अध्यक्ष महन्थ ठाकुरले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै दोहोर्‍याए । र, भाषणको अन्तमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए । 

११. जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहोर्‍याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने । उनले पूरै समय लिखित भाषण गरे ।

१२. कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए । 

१३. भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शकदीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो । त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए । 

१४. भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बाेधन गरे । तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बाेधन गरेका थिए । देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रष्ट झल्किन्थ्यो ।

१५. पाेडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए । जबकि अरू नेता सरासर गएर बाेलेका थिए ।

१६. ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे । तर केही क्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुन: बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए । 

१७‍. कांग्रेस सभापति देउवाले बाेल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए । 

१८. दलका नेताहरूका शुभकामना सकिएपछि कांग्रेस पदाधिकारीको शुभकामना मन्तव्य र नाचगान सँगसँगै चल्याे । 
 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १७:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया