कांग्रेस महाधिवेशन : लिंखाले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चार दशक लामो सक्रिय राजनीतिका योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजनीतिक भ्रमण गरेका लिंखाले १४औं महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन्।

त्याग, समर्पण, निष्ठाका पर्याय लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् । उनले संखुवासभाको मादी माविबाट नेविसंघको राजनीतिक यात्रा सुरु गरेका थिए ।

२०३८ सालमा संखुवासभा नेविसंघको जिल्ला कार्यसमिति सचिव, २०४२ सालमा हात्तीसार क्याम्पस धरानको नेविसंघ एकाइ सभापति, २०४४ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका लिंखा २०४८ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बने । २०५३ सालपछि उनी पाँचपटक संखुवासभाबाट पार्टीको महाधिवेशन-महासमिति सदस्य बनिसकेका छन् । 

संस्थापनपक्षीय युवा नेता लिंखा पार्टी पार्टीका नेता तथा कार्यकर्ताको सल्लाहमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताउँछन् । लिंखा लामो समदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता हुन् । लिंखा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि पत्याएका नेता हुन् । 

देशव्यापी नेटवर्क बनाएका लिंखा जनजाति समुदाय लोकप्रिय नेता मानिन्छन् । त्याग, लगानी र बलिदान गर्ने कुरामा जनजाति समुदायमा उनको भूमिका उल्लेख्य रहेका कांग्रेसका नेता तथा कार्यकर्ता बताउँछन् ।  



नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएसँगै केन्द्रीय पदाधिकारी र सदस्यका आकांक्षीहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन् । तुल र ब्यानरले अधिवेशनस्थल झकिझकाउ छ । कतिपय उम्मेदवारहरू मतदाता आकर्षित गर्न आफ्नो भेषभुषा र झाँकीसहित प्रचारमा उत्रिएका छन् । 

टिमको घोषणा नहुँदा आफू कुन पदमा र कुन क्लस्टरबाट उम्मेदवार हुने भन्नेमा अन्योलता कायम नै छ । महाधिवेशनले १३४ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने छ । 



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १०:५३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया