कांग्रेस महाधिवेशन : मतदान गर्न एकजनालाई दुई घण्टा लाग्ने, अन्तिम मतपरिणाम आउन दुई साता लाग्ने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा हुने निर्वाचनको अन्तिम मतपरिणाम आउन कम्तीमा १० दिन लाग्नेछ । सोमबार बिहान ८ बजेबाट मतदान समय तोकिएको छ । त्यसको अन्तिम मतपरिणाम पुसको दाेस्राे साता मात्रै आउने देखिएको हो । 

कांग्रेस महाधिवेशनमा एकजनाले २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । जसका लागि सुरुमा सभापति पदका उम्मेदवारको मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । त्यसपछि उपसभापति, महाममन्त्री, सह–महामन्त्री गरी २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । यसरी सबै मतपत्रमा मतदान गर्दा १२५ देखि १३० मिनेटको समय लाग्नेछ । यद्यपि, कांग्रेस निर्वाचन समितिले भने आधा घण्टादेखि एक घण्टासम्मको समय लाग्ने अनुमान गरेको छ । 

चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न निकै बढी समय लाग्ने देखिएको छ । आज (शनिबार) मनोनयन दर्ता गराएका उम्मेदवारहरूको आजै दाबी विरोधको समय तोकिएको छ । आजै मध्यराति १२ बजे अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका निर्वाचन समितिले तय गरेको छ । 

आइतबार ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरिएको निर्वाचन समितिका सचिव जगन्नाथ घिमिरेले जानकारी दिए । उम्मेदवारी फिर्ताको समय सकिएपछि बाँकी रहेका उम्मेदवारको नामावली प्रकाशित गरेर त्यसै आधारमा मतपत्र तयार गरिनेछ । सोही आधारमा मतदानको लागि समय तय गरिने उनको भनाइ छ । मतदान सुरु भएको ७ देखि १० घण्टाको बीचमा मतदान सकिने अनुमान गरिएको छ । 

मतदान सकिएपछि मतगणना सुरु हुनेछ । सबैभन्दा पहिला सभापतिको मतगणना गरिनेछ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा कम मत ल्यायो भने दोस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

यसरी सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको अन्तिम मत परिणाम आउन कम्तीमा १० दिन लाग्ने देखिएको हो । 
यसअघि १३औँ महाधिवेशनमा अन्तिम मत परिणाम आउन दुई साता लागेको थियो । निर्वाचन समितिले सबैभन्दा सभापति हुँदै अन्य पदाधिकारीको मत गणना गर्ने योजना बनाएको छ । अन्तिममा खुला केन्द्रीय सदस्यको मत गणना गर्ने योजना रहेको निर्वाचन समितिका सचिव घिमिरेले बताए । 



कांग्रेसले कोषाध्यक्ष भने निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत गर्ने व्यवस्था छ । कोषाध्यक्षसँगै ३३ जना केन्द्रीय सदस्य पनि सभापतिकै सिफारिसमा केन्द्रीय समितिको बैठकले मनोनयन गर्नेछ । 

किन प्रयोग गरिएन भोटिङ मेसिन ?
 
गत मंसिर १० देखि १४ गतेसम्म चितवनमा चलेको एमालेको १०औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । जुम्ल्याहा दाजुभाइ राम-लक्ष्मणले तयार पारेको भोटिङ मेसिन प्रयोग गरिएको थियो । दुई हजार ९६ जना मतदाताले १५२ जना उम्मेदवारमध्ये १२६ जना उम्मेदवारका लागि मतदान गरेका थिए । जसमा मतदानका लागि ६ घण्टा २८ मिनेटको समय लागेको थियो । उक्त मतदानको अन्तिम मतपरिणाम २ घण्टामै आएको थियो । 



त्यस्तै, काठमाडौंको भृकुटीमण्डपमा हालै सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा समेत राम-लक्ष्मणकै भोटिङ मेसिनको प्रयोग गरिएको थियो । राप्रपाले अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरेको थियो । एक सयवटा विद्युतीय भोटिङ मेसिनमध्ये राप्रपाले ९१ वटा प्रयोग गरिएको थियो । राप्रपा महाधिवेशनको अन्तिम मत परिणाम पनि चाँडै आएको थियो । 

नेपाली कांग्रेसले भने उक्त विद्युतीय भोटिङ मेसिनलाई विश्वास गर्न सकेको छैन । कांग्रेसले विगतकै शैली मतपत्रमा नै मतदान गर्न लागेको हो । महाधिवेशनअघि कांग्रेस निर्वाचन समितिले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल गरेको थियो । यसका लागि सभापति शेरबहादुर देउवासँग छलफलसमेत गरेको थियो । तर, देउवाले विद्युतीय भोटिङ मेसिनप्रति विश्वास गरेनन् । 

समितिले पदाधिकारीबाहेक अन्यका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न सुझाब दिएको थियो । तर, देउवाले कुनै पनि पदमा विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने अडानमा रहे । त्यसपछि समिति भने पुरानै शैलीमा मतदान गर्ने मनसायका साथ अघि बढेको थियो । 

निर्वाचन समितिले मात्र नभएर कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले समेत विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न केन्द्रीय समितिमै प्रस्ताव गरेको थियो । तर, त्यतिबेला नेताहरूले उक्त विषयमा छलफल गर्न चाहेनन् । जसले कांग्रेस महाधिवेशन पुरानै शैलीबाट मतदान गर्दै अघि बढ्ने भएको । यसको अन्तिम मत परिणाम आउन विगतका महाधिवेशनझैँ आधा महिनाभन्दा बढी समय लाग्ने देखिएको छ । 

कांग्रेस प्रवक्ता तथा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले विद्युतीय भोटिङ मेसिन प्रयोगका विषयमा पार्टीमा छलफल भए पनि शीर्ष नेताहरूको असन्तुष्टिपछि प्रयोग नगरिने बताए । 
नेपाली कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १३५ केन्द्रीय सदस्यका लागि मतदान हुनेछ । कांग्रेसले मतदानस्थलमा मतदान गर्न एक हजारवटा मतपेटिकाको व्यवस्था गर्नेछ । जसमा एकैपटक एक हजारजनाले मतदान गर्न सक्नेछन् ।  

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ । 
 

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया