मुस्लिम समुदायको विकासविना प्रदेश र देशको विकास हुन सक्दैन : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायको विकासविना प्रदेश र देशको विकास नहुने बताएका छन् ।

मुस्लिम आयोगले शनिबार मुस्लिम समुदायको हकहित अभिवृद्धिका लागि विद्यमान कानुनी, नीतिगत तथा संस्थागत विषयमा प्रदेश सरकार एवं प्रदेश सांसदसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले उक्त कुरा बताएका हुन् । प्रदेश २ मा करिब १२ प्रतिशत मुस्लिम समुदायको बसोवास रहेको र उनीहरूको अपेक्षित विकास हुन नसकेको राउतले बताए ।

सबै समुदाय, वर्ग र जातजातिको विकास भएको खण्डमा मात्रै प्रदेश र देशको विकास सम्भव हुने मुख्यमन्त्री राउतको भनाइ थियो । शिक्षामा अहिलेसम्म पनि मुस्लिम समुदायको पहुँच हुन नसकेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘शिक्षा नै विकास र समृद्धिको माध्यम रहेकोले मुस्लिम समुदायको अगुवाहरूले आफ्ना टोल समुदायका बालबालिकाको पठनपाठनतर्फ आकर्षित गर्नुपर्छ ।’

मदरसा शिक्षालाई राज्यले मान्यता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षासँग बालबालिकालाई जोड्नुपर्ने बताए । प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनका लागि विधेयक सदनमा पुर्याइसकेको उल्लेख गर्दै उनले मदरसामा अरबी र उर्दुका साथ साथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापनसमेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मुस्लिम आयोगमा अध्यक्ष समिम मियाँ अन्सारीले सकारले सरकारले समयमा कानुन नबनाउँदा लोक सेवा आयोगलगायत विभिन्न निकायमा मुस्लिम समुदायले जनसंख्याका आधारमा आरक्षण पाउन नसकिरहेको बताए । 

संविधानमा दिएको अधिकार पनि कानुनको अभावमा प्राप्त हुन नसकिरहेको बताउँदै अध्यक्ष अन्सारीले भने, ‘मुस्लिम समुदायको समस्या तथा त्यसको समाधानको विषयमा एक प्रतिवेदन तयार गरी सकारलाई सिफारिस गरे पनि कानुनको अभावमा त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।’



आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुघन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलीप साह, सुरिता साहसहितका वक्ताले मुस्लिम समुदायको हक–अधिकारबारे आ–आफ्नो धारणा राखेका थिए ।



  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार १८:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया