कांग्रेसमा थपियो गुट : कुन कति बलियो ?
फरकधार / २५ मंसिर, २०७८

कांग्रेसीजनबाट बारम्बार सुनिने वाक्य हो - ‘गुटले कांग्रेस कमजोर भयो, गुट अन्त्य हुनुपर्छ ।’



गुटकै कारण पार्टी निर्माणमा मरिमेट्ने नेताहरूले अवसर पाएनन् तर नेताको झोला बोक्नेले बारम्बार अवसर पाए भन्ने दुखेसो पनि बारम्बार नेताहरूले पोख्ने गर्छन् ।

त्यही भएर गुट अन्त्यको एजेण्डा कांग्रेसमा उठ्दै आएको बर्सौँ भयो । नेताहरू सार्वजनिक भाषणमा गुट अन्त्यको कुरा उठाउँछन् तर पार्टीभित्र गुटमै रमाउँछन् । जुन १४औँ महाधिवेशनमा पनि पुष्टि भएको छ ।



कांग्रेसको १३औँ महाधिवेशनमा तीन गुट स्पष्ट रूपमा देखिएको थियो- रामचन्द्र पौडेल (तत्कालीन संस्थापन), शेरबहादुर देउवा (संस्थापनइतर) र कृष्णप्रसाद सिटौलाको (तेस्रो धार) ।



तीनै जना सभापति पदमा निर्वाचन लडे पनि । दोस्रो चरणमा सिटौलाले देउवालाई समर्थन गरेर देउवा निर्वाचित भए । त्यही बेलादेखि कांग्रेसमा अस्तित्वमा आएको हो, सिटौला गुट ।

यो १४औँ महाधिवेशनमा भने गुटको संख्या बढेको छ । प्यानलसहित उम्मेदवारी चार गुटबाट भएको छ । यीमध्ये दुई गुट पुरानै हुन् भने दुई गुट नयाँ छन् । कालान्तरमा पार्टीभित्र ती नयाँ गुटले आकार लिँदै जाने निश्चित छ ।

थपिएका गुट हुन्, ‘प्रकाशमान सिंह गुट र विमलेन्द्र निधि गुट ।

सिंह गुट

कांग्रेसमा केन्द्रीय सदस्य, महामन्त्री हुँदै उपसभापति भइसकेका नेता हुन् प्रकाशमान सिंह । पटकपटक मन्त्री पनि भइसकेका छन् । उनै नेता सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर पक्षबाट विद्रोह गरेर आफ्नै गुट बनाएका छन् । गुटबाटै प्यानल बनाएर उनी १४औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् ।

उनको प्यानलले निर्वाचन जित्छ/जित्दैन ? यसै भन्न सकिन्न । तैपनि एउटा कुरा प्रष्ट के छ भने, सिंह नेतृत्वको गुट बलियो देखिएको छ ।

उनीसँग कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा जोडिए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष उनी लोकप्रिय नेता युवा हुन् । उनको महामन्त्री पदमा उम्मेदवारी परेको छ । उनको पार्टी संगठनमा प्रभाव छ । अझ गृहजिल्ला झापामा शर्मा प्रभावशाली छन् । कम मतान्तरले उनी समर्थित सभापतिका उम्मेदवार राम कट्टेल झापा जिल्ला सभापतिमा देउवा–सिटौला गठबन्धनका उम्मेदवार देउमान थेबेसँग पराजित भएका थिए ।

यसरी प्रभावशाली एक नेताको प्रवेशले सिंह गुट बलियो हुने देखिएको छ । अर्कातिर नेतृ सुजाता कोइराला पनि सिंहको गुटमा देखिइन् । उनले उपसभापति पदमा उम्मेदवारी दिएकी छिन् ।

उनी कांग्रेसका पूर्वप्रधानमन्त्री तथा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । उनका कारण पनि सिंह गुटको स्थिति बलियो हुने देखिएको छ । अन्य केही प्रभावशाली नेताहरूको पनि साथ सिंहलाई छ । कालान्तरमा सिंह गुट कांग्रेसभित्र प्रभावशाली हुने देखिएको छ ।

उनी यसअघि संस्थापनइतर पक्षबाट सभापति पदको उम्मेदवार हुन चाहन्थे तर हाल सभापति पदकै उम्मेदवार रहेका कोइरालासँग साझा उम्मेदवारबारे सहमति हुन सकेन । एकले अर्काका लागि त्याग गर्न सकेनन् ।

इतरपक्षबाट सभापतिका साझा उम्मेदवारको कसरत नभएको होइन । वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाबाट पनि भयो । अन्ततः कसैले कसैका लागि त्याग नगर्ने भएपछि सिंह अलग भएर प्यानलसहित चुनावी मैदानमा पुगेका हुन् । उनी १३ औं महाधिवेशन अघि देउवालाई छाडेर पौडेलतिर गएका थिए । त्यसअघि भने २०५९ सालमा देउवाले पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दादेखि १२ औं महाधिवेशनसम्म साथ दिए । 

निधि गुट

विमलेन्द्र निधि कांग्रेसमा संस्थापन पक्षबाट सभापति बन्न चाहन्थे । देउवालाई यसपटक ‘म सभापति हुन्छु, सहयोग गर्नुहोस्’, भनेका पनि हुन् । तर, देउवाले मानेनन् । उल्टै अर्कोपटक सभापति हुन सकिने भन्दै फेरि सभापति हुन सहयोगका लागि देउवाले आग्रह गरे ।

यसपछि देउवासँग रिसाएका निधिले अलगै सम्पर्क कार्यालय खोलेर महाधिवेशनको प्रचारप्रसारमा जुटेर अन्ततः सभापति पदको निर्वाचनको मैदानमा छन् ।

उनको गुटमा कांग्रेस राजनीतिमा त्यति लोकप्रिय नेताहरू भने छैनन् । यद्यपि, मधेसका बढी नेताहरूको सहानुभूति उनीलाई छ । जो स्वाभाविक पनि छ । किनभने भेगिय सम्बन्धले पनि राजनीतिमा महत्त्व राख्छ ।

निधि पनि सिंहले जसरी देउवालाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन हुँदादेखि साथ दिएका नेता हुन् । सिंहले भन्दा अझ लामो समयसम्म निधिले साथ दिए । तर, देउवाले भने सिंहलाई जसरी निधिलाई पनि पार्टी नेतृत्वमा पुर्याउन चाहेनन् । सोही कारण निधि अलग भएका हुन् । अब, उनको पनि गुट कांग्रेसमा देखिने भएको हो ।

गुरुङ र न्यौपानेको गुट हुने आधार कमजोर

महोत्तरी घर भएका नेता कल्याणकुमार गुरुङबाट पदाधिकारीसहित प्यानलको घोषणा भएन । सभापति पदमा मात्रै उनको उम्मेदवारी भयो । अर्का सभापति पदका उम्मेदवार युवराज न्यौपानेबाट पनि पदाधिकारी रहेको प्यानल तयार भएन । एक्लाएक्लै सभापतिमा लडेका छन् ।

यद्यपि, गुरुङ भने नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य भएकाले उनको प्रभाव संगठनमा छ । मत कति ल्याउने हुन् ? यसै भन्न सकिन्‍नँ । नेता न्यौपाने भने त्यति चिरपरिचित नेता होइनन् । यसकारण यी दुई नेताको भने गुट बन्न सम्भावना कम देखिन्छ ।

  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २०:३६:१७,   अन्तिम अपडेट : मंसिर २५, २०७८ शनिबार २०:३९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया