प्रकाशमानले किन मानेनन् शेखरसँग सहमति गर्न ?

कांग्रेसको १४ औं महाधिवेशनमा अन्ततः सभापतिमा चार जना नेताको प्रतिस्पर्धा हुने भएको छ । सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले शनिबार सभापतिमा उम्मेदवारी दिँदै आआफ्नो जित हुने दाबी गरेका छन् ।

यी चार जनामध्ये विमलेन्द्र निधिले धेरै अगाडिदेखि नै सभापतिमा दाबी गरेका थिए । उनले सम्पर्क कार्यालय बनाएर आफ्नो तयारी पनि गरेका थिए । 

शनिबार विमलेन्द्रको सभापतिमा उम्मेदवारी पर्दा कसैले पनि अनौठो मानेनन्, उनले यस्तो हुन्छ भन्ने केहीअघि देखि नै अभ्यस्त बनाइसकेका थिए । 

तर, शनिबार विहानसम्म पनि संस्थापन इतर पक्षबाट वा रामचन्द्र पौडेल समूहबाट एक जनाको मात्र सभापतिमा दाबी हुन्छ भन्ने धेरैको अनुमना थियो । पौडेल समूहमा तीन जना आकांक्षी थिए, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह ।

लामो रस्साकस्सी पछि शशांकले आफूले सभापतिमा दाबी छोड्न तयार भए । त्यसो त केही समयअघि नै उनले शेखर कोइरालालाई समर्थन गर्ने कुरा आइसकेको थियो । पछि उनले रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने अस्त्र पनि फाले । तर, उनको चाहना पूरा भएन । 

उनको चाहना पूरा नहुनुको कारण हो, प्रकाशमान सिंह पछाडि हट्नै नमान्नु । किनकि शुक्रबारको बैठकमा शेखर कोइरालाले समेत प्रकाशमान सिंहले मानेको खण्डमा आफूले पौडेललाई समर्थन गर्न कुनै अवरोध सिर्जना नगर्ने बताएका थिए ।



प्रकाशमान सिंहले सभापतिमा दाबी नछोड्दा रामचन्द्र पौडेले सभापतिको दौडबाट बाहिरिएका मात्र होइनन्, यो समूहबाट अब दुई जनाको उम्मेदवारी परेको छ । आखिर प्रकाशमानले किन मानेनन् त शेखरसँग सहमति गर्न ?

यसका तीन सम्भावित कारणबारे चर्चा गरौँ ।



पहिलो हो, प्रकाशमान सिंह अब आफैं कांग्रेसमा वैकल्पिक केन्द्रको निर्माण गर्न चाहन्छन् । उनले कांग्रेसमा आफूलाई केन्द्रका रुपमा विकास गर्न सभापतिमा उम्मेदवारी दिनुलाई पहिलो विकल्प मानेका छन् । पछिल्लो पटक सरकार गठन गर्दा सभापति शेरबहादुर देउवाले उनीसँग खासै राय लिएनन्, उनका चाहनालाई त्यति वास्ता नगरेको पीडा उनले बोकिरहेका छन् ।

त्यसैले कांग्रेसमा आफू र आफ्ना समर्थकलाई सुरक्षित बनाइराख्नका लागि उनले सभापतिमा उम्मेदवारी दिने अडान लिएका हुन् । अनि यसपटक सभापतिमा शेखर कोइरालालाई समर्थन गरेको खण्डमा उनले आफूले बनाएको स्थानलाई पनि गुमाउन सक्ने अनुमान गरेका छन् ।

सभापतिको दौडबाट पछाडि हट्न नचाहनुमा प्रकाशमानले पार्टीमा थप बार्गेनिङ पावर बढाउन चाहनु पनि कारण हो । उनले सभापतिमा आफूले पनि उम्मेदवारी दिएको खण्डमा सभापति चुन्नका लागि दोस्रो चरणको निर्वाचन हुने पक्कापक्की सोचेका छन् । ‘दोस्रो चरणमा आफूले बार्गेनिङ गर्न पाउँछु र यसअघि १३ औं महाधिवेशनमा सिटौलाले गरेको जस्तो गर्दा आफू केन्द्रित सेन्टरको विकास हुन्छ भन्ने उहाँले सोच्नु भएको हुनसक्छ,’ कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिएका एक उम्मेदवार भन्छन्, ‘तर, उहाँको यो सोचका कारण घाटा भएको छ भने केवल उहाँकै समूहलाई भएको छ ।’

प्रकाशमान सिंहले १४ औं महाधिवेशन हुने निश्चित भए पछि एकाएक भारत भ्रमण गरेका थिए । भारतमा उनले भारतीय जनता पार्टीका नेताहरु भेटेर फर्किएका थिए । भारतबाट आफूलाई समर्थन हुन्छ भन्ने कारणले पनि उनले सभापतिमा दाबी गर्न नछोडेको अर्को अनुमान छ ।


  • प्रकाशित मिति : मंसिर २५, २०७८ शनिबार २२:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया