सिन्धुलीमा आत्महत्या गर्नेको संख्या बढ्दै
सांकेतिक तस्बिर

गत ८ मंसिरमा तीनपाटन गाउँपालिका-३ कोटगाउँका १५ वर्षीय कपिल श्रेष्ठ घर नजिकैको गोठमा झुन्डिएको अवस्थामा फेला परे । 

गत ९ मंसिरमै कमलामाई नगरपालिका-५ जरायोटारकी ३० वर्षीया गीता विश्वकर्मा आफू सुत्ने काेठामै झुन्डिएको अवस्थामा फेला परिन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पछिल्लो समय आत्महत्याका घटना धेरै हुने गरेका छन् । जसअनुसार १ देखि २१ मंसिरसम्म १३ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्याका कारण पनि आत्महत्याका घटना बढ्दै गएको बताए ।

लामाले भने,‘बढ्दै गएको सहरीकरणसँगै महत्वाकांक्षा पनि थपिँदै जाने तर महत्वाकांक्षा पूरा नहुने, व्यवसायमा असफलता, श्रीमानश्रीमतीबीचको झगडालगायतका कारणले पनि आत्महत्याका घटना बढेका छन् ।’ 

यसका साथै मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने डिएसपी लामाले बताए ।

‘प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई छिमल छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइतर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै- जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूपधारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन्,’ उनले भने । 



सिन्धुलीमा मात्र नभई देशभर नै आत्महत्याको समस्या रहेको उनको भनाइ छ । साथै उनले आत्महत्याका घटना बढ्दै गएपछि यसका कारण र न्यूनीकरणबारे सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । 

‘जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ, यसले समाज डरलाग्दो अवस्थामा जाँदै छ भन्ने अवस्थाको चित्रण गरेको छ’, लामाले भने, ‘त्यसैले पनि बेरोजगार युवाहरूलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ।’



लामाका अनुसार आत्महत्या गर्नेहरूमध्ये धेरै युवा अवस्थाका रहेका छन् ।

शरीरमा थकान, निराशा, अनावश्यक तनाव, पुराना कुराहरूप्रति वितृष्णा हुनेजस्ता किसिमका लक्षण देखिए चिकित्सकहरूसँग परामर्श गर्नुपर्ने मनोचिकित्सकहरूले सुझाव दिएका छन् ।

पछिल्लो समय किशोर-किशोरीले समेत आत्महत्या गर्नुको कारण पहिचान गरी विद्यालय स्तरबाटै जीवनको महत्व बुझाउँदै सचेतना जगाउने र आत्मबल बढाउने खालका कार्यक्रम गर्न जरुरी रहेको उनीहरूको भनाइ छ । के कारणले मानिस आत्महत्यातर्फ उन्मुख हुने गरेका छन् ती कारणको पहिचान गरी निराकरण गर्न जरुरी रहेको मनोचिकित्सकहरू बताउँछन् । 

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार ११:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया