चाहना सभापतिमा, उम्मेदवार नबनी भए अलग

राजनीतिक दलहरूले महाधिवेशन गर्नुको कारण दलको नीति संशोधन गर्न हो । विश्व राजनीतिक परिवेशमा भएको अदलबदलदेखि जनताको चाहना र देशको आवश्यकताअनुसार पूर्ववर्ती नीतिमा थपघट महाधिवेशनमार्फत् गर्छन् ।

अर्को भनेको नेतृत्व चयन गर्न महाधिवेशन हुन्छ । महाधिवेशनबाट कोही नेता बन्छन्, कोही किनाराकृत हुन्छन् । अनि, राजनीतिप्रति घृणाभाव व्यक्त गर्छन् । त्यस्तै भएका छन्, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ।

समकालीन नेता शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री भइसके । एकपटक पार्टी सभापति बने । दोस्रोपटक हुन खोज्दै छन् । त्यसका लागि चुनावी मैदानमा उत्रिसके।

राजनीति गर्ने जो कोहीलाई प्रधानमन्त्री हुन्छु भन्ने लाग्नु स्वाभाविक हो । दलको नेतृत्वमा पुग्ने मन हुनु पनि स्वाभाविक हो । पौडेललाई पनि लागेकै हो । तर, उनी न सरकारको नेतृत्वमा पुग्न सके न पार्टी नेतृत्वमा । अवसर नपाएका भने होइनन् ।

२०६९ मा १७ पटकसम्म प्रधानमन्त्रीको दौडमा रहँदा पनि पराजित हुन पुगेका थिए । अनि, १३ औं महाधिवेशनमा पनि सभापति पदमा लडे तर पराजित भए । हुन त उनका पनि धेरै कमजोरी होलान् । त्यसतर्फ नजाऔं । यद्यपि, नेता पौडेलले शनिबार विज्ञप्ति सार्वजनिक गरेर राजनीतिबाट अलग भएको बताएका छन् । 

उनले भनेका छन्, ‘१४‍औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भनेको छु ।’ यसबाट के प्रष्ट हुन्छ भने पौडेल बाह्यभन्दा पनि दलभित्रको राजनीतिबाट आजित भएका छन् । निराश भएका छन् । 



त्यही भएर उनी १४औं महाधिवेशनसँग राजनीतिक रूपमा किनारा लागेका छन् । भन्न चाहिँ उनले इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने बताएका स्पष्ट पारेका छन् । 

उनले किन यसो भने ? त्यसबारे थाहा पाउन पृष्ठभूमि खोतलौं । 



१८ भदौमा वडा अधिवेशन हुनु पहिले संस्थापनइतर पक्षबाट सभापति पदमा त्यसबेला आकाङ्क्षी रहेका र हाल उम्मेदवार भएकामध्येका डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई साथमा राखेर साझा सभापतिको उम्मेदवार तयार गर्न वचन दिने नेता पौडेल हुन् ।

पत्रकारहरूलाई त्यसबेला पौडेलले भनेका थिए, ‘तपाईंहरूले एक जना मात्रै उम्मेदवार हुने सुखद् समाचार पाउनुहुन्छ ।’

सुखद् समाचार त के शनिबार राजनीतिबाट उनै पौडेल अलग भएको दुःखद् खबर आयो । हुन त यसबीचमा पौडेलको जोड साझा उम्मेदवार तयार गर्नेमा रह्यो । भए आफू नभए डा. शेखर कोइराला, प्रकाशमान सिंह वा शशांक कोइरालाको नाममा सहमति जुटाएर साझा उम्मेदवार तयार गर्ने भन्ने थियो । 

चाक्सिबारी, बोहराटारदेखि अनुपम फुटल्याण्डमा पटकपटक उनीहरू छलफलमा जुटे । सहमति भने भएन । पौडेल साझा उम्मेदवार तयार गर्न आफू बाधक नबन्नेसम्म भ्याए । शशांकले पनि साझा उम्मेदवारका लागि भनेर सभापति नबन्ने भने ।

प्रकाशमान र शेखर भने जसरी पनि सभापति पदमा निर्वाचन लडेरै छाड्ने भए । पटकपटकको छलफलमा उनीहरू अडानबाट टसमस भएनन् । यही कारण शनिबार बिहानसम्म साझा उम्मेदवार तयार गर्न गरेको प्रयास असफल भएपछि पौडेलबाट विज्ञप्ति आएको हो ।

यससँगै उनी राजनीतिबाट अलग हुने भएको देखिएको छ । यद्यपि, सभापति पदमा मनोनयन दर्तापछि बोहराटार पुगेर प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्नुहोस् भनेको कुरा सार्वजनिक भएको छ।

पौडेलले भने देउवालाई सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको हुँ भनेका उनका प्रेस सहयोगी खिला कार्कीले बताएका छन् । त्यसो त दुई नेताबीच यति मात्रै कुरा भयो होला भन्न सकिने अवस्था छैन । जबकि, महाधिवेशनबाट सभापति जसरी पनि हुनैपर्ने भन्नेमा देउवा छन् ।

यस्तो अवस्थामा भएको भेटले कतै निर्वाचन प्रक्रिया त प्रभावित पार्दैन ? चासोपूर्ण हेरिएको छ । छ न त पौडेलको समर्थन शेखरको प्यानललाई छ ।

यसो भए पनि महाधिवेशनको प्रक्रिया सुरु भएकै बेला पौडेललाई सभापति पदको दौडबाट पछि हटेर राष्ट्रपति बन्न र देशको अभिभावक हुन देउवाले सुझाएका थिए । त्यसो भएकोले महाधिवेशनको प्रक्रियाबाट अलग हुन खोज्नु देउवाबाट आएको ‘राष्ट्रपति’ कार्डको खेल त होइन ? शंका गर्न सकिन्छ ।

फेरि, पौडेलको चाहना पनि राष्ट्रपति हुने छ । यसअघि उनले राष्ट्रपतिका चाहना पटकपटक राखिसकेका छन् । 

पौडेलपछि कांग्रेसको १४औं महाधिवेशनले अलग पारेका अर्का नेता हुन्- कृष्णप्रसाद सिटौला । सभापति पदको दाबेदारको हुँ भन्दै डेढ साताअघि भनेका थिए । तर, आफू पछि हटेर उनले पार्टीको तर्फबाट युवा नेता प्रदीप पौडेललाई उनको टिमबाट अघि सारे । 

उमेरले पनि ज्येष्ठ भइसकेका उनी १५औं महाधिवेशनसम्म सक्रिय राजनीतिमा होलान् कि नहोलान् ? भन्न सकिने अवस्था छैन ।

पार्टीका पूर्वमहामन्त्री उनी अब सक्रिय राजनीतिभन्दा पनि कांग्रेसमा भनिएको तेस्रो धारको शीर्ष नेता भएरै बस्ने देखिएको छ । 

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १२:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया