के गगनले महामन्त्री पदकै लागि प्रकाशमान सिंहलाई पनि धोका दिएका हुन् ?

१४ औं कांग्रेस महाधिवेशनबाट नयाँ नेतृत्व छान्नका लागि भोलि सोमबार काठमाडौंमा विभिन्न पदमा मतदान हुनेछ । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाको निकै रोचक प्रतिस्पर्धा हुने देखिएको यो महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारहरुबारे पनि व्यापक चर्चा चुलिएको छ । 

यसरी महामन्त्रीमा उम्मेदवारी दिएकाहरुमध्ये सबैभन्दा बढी चर्चामा आएका तीन पात्र हुन्, गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्मा ।

यीमध्ये यो महाधिवेशनमा सबैभन्दा पहिलेदेखि नै स्वभाविक उम्मेदवार मानिएका थिए, गगन थापा । उनले महाधिवेशनको तयारी सुरु हुँदै गर्दा नै महामन्त्रीमा आफूले उम्मेदवारी दिने बताएकाले पनि उनको माहोल बढी तातेको थियो । 

जतिबेला महामन्त्री पदको तयारीमा थापा लागेका थिए, त्यति बेला उनका दुई प्रतिस्पर्धी पार्टीको काममा व्यस्त थिए । विश्वप्रकाश शर्मा पार्टी प्रवक्ताका रुपमा काममा तल्लीन थिए भने प्रदीप पौडेल क्रियाशिल सदस्यता विवाद छानबिनमा । 

समयको राम्रो सदुपयोग गर्न पाएका गगनमाथि पछिल्लो समय उम्मेदवारी दिए पछि चाहिँ सकारात्मक नभएर नकारात्मक टिप्पणी बढ्न थालेका छन् । कारण हो– उनले आफ्नो स्वार्थ केन्द्रित भएर गुट अदलबदल गर्नु ।

यसअघि १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाबाट महामन्त्रीका उम्मेदवार बनेका गगनले यसपटक केही अगाडि नै सिटौलालाई छाडे । 



‘उनले पदका लागि नै सिटौलालाई छाडेका हुन्,’ कांग्रेसमा उनीनिकट नेता नै बताउँछन्, ‘यसअघि पराजय भोगेकाले गगनले यसपटक आफूलाई सुरक्षित बनाउन यस्तो गरे ।’

सिटौला छाडेर रामचन्द्र पौडेल समूहमा गएका गगन बीचमा काठमाडौंमा मात्र होइन, जिल्ला अधिवेशनहरुमा र प्रदेश अधिवेशनमा समेत प्रकाशमान सिंहसँग निकट देखिए । काठमाडौंमा पहिले देखि नै प्रकाशमान सिंहसँग निकट गगनले पौडेल समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउने भने पनि यसमा उनी सफल भएनन् ।



पौडेल समूहबाट अहिले सभापतिका आकांक्षी दुई जना देखिएका छन्– शेखर कोइराला र प्रकाशमान सिंह । सिंहले पछिल्लो समय सभापतिमा दाबी गरिरहँदा गगनलाई पनि आफ्नो पक्षमा राखिरहेका थिए । शेखरसँग पनि उत्तिकै निकट गगनले पनि प्रकाशमानलाई साथ दिने वाचा गरेका थिए । 

कांग्रेसका एक नेताका अनुसार पछिल्लो समय प्रकाशमान सिंहसँग रहिरहँदा आफू पराजित हुने सम्भावना बढी देखेपछि चाहिँ गगनले उनलाई पनि धोका दिएका छन् ।

‘उनले पदलाई पहिलो प्राथमिकतामा राखे,’ ती नेता भन्छन्, ‘पदका लागि र व्यक्तिगत स्वार्थका लागि उनले गुट फेरिरहे । अहिले पनि उनले प्रकाशमान सिंहलाई धोका दिए ।’

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १४:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया