‘नजित्ने हुँदा महाधिवेशन कसैले गर्लान् ? गर्दैनन् ।’ महाधिवेशनको कार्यतालिका पटकपटक हेरफेर हुँदा राजनीतिक विश्लेषक दुर्गा सुवेदीले भनेका थिए ।
हुन पनि सातपटक कार्यतालिका हेरफेरपछि मात्रै १४औँ कांग्रेस महाधिवेशन सम्भव भएको छ । अहिले मतदान भइरहेको छ । मतदानपछि मतगणना हुने हो । हुँदा पहिले सभापतिको हुन्छ । अनि मात्रै उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यहरूको हुन्छ ।
सुवेदीले भने जसरी के देउवाले जित्ने गरिको माहोल बनाएर महाधिवेशन गरेका हुन् ? यसै भन्न सकिने अवस्था छैन । नभए पनि महाधिवेशनमा सभापतिको बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।
तर, उनलाई टक्कर मात्रै होइन, सभापतिमै जित्ने दाबी अन्य सभापति पदका उम्मेदवारहरूले गरेका छन् । उनीहरू हुन्- डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ ।
यी उम्मेदवारहरू के-के आधारमा बलिया ? संक्षेपमा चर्चाको प्रयास गरिएको छ ।
देउवा
कांग्रेसमा तेस्रो धार भनिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको समर्थन यो महाधिवेशनमा सुरुमै सभापति पदका उम्मेदवार शेरबहादुर देउवा प्यानललाई छ । उनीहरूबीच चुनावी गठबन्धन छ ।
१३औँ महाधिवेशनमा पनि दोस्रो चरण पुगेर दुई नेताबीच गठबन्धन बनेको थियो । सिटौलाकै भोटले देउवा सभापति बन्न पुगे । जतिबेला सिटौला पनि सभापतिको प्रतिस्पर्धी थिए । तैपनि दोस्रो चरणको निर्वाचनमा सिटौला निर्णायक बने ।
सिटौला पक्षसँग ६ सयदेखि ७ सयसम्म महाधिवेशन प्रतिनिधि रहेको ठानिएको छ । दुई हजार बढी महाधिवेशन प्रतिनिधि रहेको दाबी देउवा पक्षको छ ।
दुवै टिमको भोट अन्तर्घातबिना प्यानलमा खसेको अवस्थामा देउवा बलियो रहेको कतिपयको विश्लेषण छ । कांग्रेसमा कूल महाधिवेशन प्रतिनिधि संख्या चार हजार ७४३ जना हो ।
देउवाले महामन्त्रीमा प्रभावशालीमध्येका एक युवा नेता प्रदीप पौडेललाई पनि समेटेका छन् । उनी सिटौलापक्षीय हुन् ।
कोइराला
केन्द्रीय सदस्यदेखि एकैपटक सभापति पदमा उम्मेदवारी दिएका डा. शेखर कोइरालाको टिमलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समर्थन छ । कांग्रेसमा पुस्तान्तरणको मुद्दा उठाउने र कांग्रेस मात्रै नभई राष्ट्रिय राजनीतिमा प्रभावशाली युवा नेताहरू गगन थापा, डा. चन्द्र भण्डारी, बद्री पाण्डे, जीवन परियारसहितको नेतालाई कोइरालाले पदाधिकारीमा समेटेका छन् ।
अर्कोतर्फ, बिपी कोइराला र केशव-नोना कोइराला परिवारको लिगेसी शेखर टिमसँग जोडिएको छ । र, कोइराला परीक्षण नभएका नेता पनि हुन् । जसका कारण सभापतिमा चुनिन पनि सक्छन् । यससँगै उनका चुनावी एजेण्डा पनि लोकप्रिय छन् ।
सिंह
संस्थापनइतर पक्षबाटै सभापति पदमा उम्मेदवार बनेका पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि टिममा राष्ट्रिय राजनीतिमा प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा महामन्त्री पदका उम्मेदवार छन्।
फेरि, नेता सिंह पार्टी नेतृत्वमा परीक्षण नभएका नेता हुन् । त्यही भएर परीक्षणका लागि महाधिवेशन प्रतिनिधिहरूबाट चुनिने सम्भावना छँदैछ ।
अर्कोतिर, सिंह कांग्रेसका संस्थापक मात्रै नभई प्रजातन्त्र पुनर्वहाली भएको २०४६ को आन्दोलनको सर्वोच्च कमाण्डर पनि हुन् । ‘लौहपुरुष’ भनेर चिनिने सिंहका छोरा पनि भएको हुनाले प्रकाशमान पनि बलिया उम्मेदवार ठानिन्छ । उनको चुनावी एजेण्डाहरू पार्टी लोकप्रिय नै छन् ।
निधि
विजयकुमार गच्छदार फर्किनुअघि कांग्रेसमा प्रतिनिधित्व गर्ने मधेसको सर्वोच्च नेता विमलेन्द्र निधि हुन् । उनी निष्कलंक छवि भएका नेतामध्येमा पर्छन् । उपसभापति भइसकेका उनी मधेसी समुदायबाट सभापति पदमा उम्मेदवारी दिने पहिलो नेता पनि हुन् ।
निधिका बुबा महेन्द्रनारायण कांग्रेसको आठौँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए । नेविसंघमा पनि रहेर काम गरेका विमलेन्द्रले विद्यार्थी संगठनबाट मात्रै नभई मधेसको मत बढी पाउने ठानिन्छ ।
गुरुङ
नेपाली कांग्रेसलाई युवाले चलाउनुपर्छ भन्ने नेता हुन् कल्याणकुमार गुरुङ । त्यही भएर १४औँ महाधिवेशनमा उम्मेदवारी दिएका उनका चुनावी एजेण्डाहरू राम्रा छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष उनलाई युवा विद्यार्थीसँगै नेतृत्व परिवर्तनको पक्षमा उभिएकाहरूले मतदान गर्न सक्छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।