नेपाली कांग्रेस १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व छान्न मतदान भइरहेको छ । निर्धारित समय बिहान ९ बजेभन्दा ३ घण्टा ढिलो गरी मध्याह्न १२ बजेदेखि सुरु भएको थियो ।
भित्र मतदान जारी रहँदा बाहिर भने कार्यकर्ताहरू आ-आफ्ना उम्मेदवारको प्रचार गरिरहेका छन् । कांग्रेस निर्वाचन आयोगले हिजोबाट प्रचारप्रसार नगर्न भने पनि समर्थकले होहल्ला गर्दै प्रचारप्रसार गरिरहेका छन् ।
अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, बालकृष्ण खाँण, उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् । अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लाइनमा बसेका छन् ।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि चार हजार ७४३ जनाले मतदान गर्नेछन् । मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था मिलाइएको छ ।
मतदानस्थलमा ११ सय बुथको व्यवस्था गरिएको छ पदाधिकारी सदस्यसहित १३४ पदका लागि निर्वाचन भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।