कांग्रेस महाधिवेशन : निर्वाचन दोस्रो चरण पुगे कसलाई फाइदा ?

नेपाली कांग्रेसको भावी सभापतिलाई लिएर अनेक अड्कल भइरहेको छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मतदान जारी रहँदा ५० प्रतिशत मत कटाएर पहिलो चरणको निर्वाचनबाटै कांग्रेसले सभापति पाउने एकथरिको अड्कल छ भने अर्काथरी दोस्रो चरणको निर्वाचनबाट मात्रै सभापति निर्वाचित हुने बताउँछन् ।

सभापति पदका लागि दुई जनाले उम्मेदवारी दिएको भए जसले धेरै मत प्राप्त गर्छ ऊ नै सभापति निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ । दुईभन्दा बढी उम्मेदवार भएको खण्डमा भने पहिलो चरणको निर्वाचनमा उम्मेदवारले ५० प्रतिशत मत कटाउनुपर्छ । ५० प्रतिशत मत कटाउन नसके पहिलो र दोस्रो बढी मत पाएका उम्मेदवारबीच सभापतिका लागि प्रतिस्पर्धा हुन्छ ।

कांग्रेसको नेतृत्व लिनका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । जसमा तीन जनाले दोस्रो चरणको निर्वाचन होस् भन्ने चाहन्छन् भने एक जना उम्मेदवारको पहिलो चरणमै निर्वाचन सकियोस् भन्ने चाहना छ ।

कांग्रेस सभापति पदका प्रतिस्पर्धीमध्येका डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको निर्वाचन होस् भन्ने चाहन्छन् । सभापति पदका प्रतिस्पर्धी शेरबहादुर देउवालाई पहिलो चरणमा रोक्न उनीहरूको रणनीति छ ।

उनीहरू निर्वाचनलाई दोस्रो चरणमा पुर्याउन सफल होला कि नहोला ? निश्चित भने सकिने अवस्था छैन । फेरि, उनीहरूलाई चुनौती पनि थपिएको छ । कांग्रेसमा तेस्रो धार मानिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवालाई समर्थन गर्दा उनीहरूलाई चुनौती हो । परिणामतः महाधिवेशनमा देउवा–सिटौला गठबन्धन भएको छ ।

तैपनि कोइराला, सिंह र निधिको चाहना नै दोस्रो चरणको निर्वाचन हो । आखिर, उनीहरू किन सभापति पदको निर्वाचन दोस्रो चरणमा पुर्याउन चाहन्छन् ? यसको पछि छ – एउटा कारण ।



त्यो हो – पहिलो चरणमा देउवालाई रोक्न सकिएको अवस्थामा दोस्रो चरणको निर्वाचनमा तीन जना (कोइराला, सिंह र निधि) बीच सहकार्य गर्ने । अर्थात् तीनमध्ये बढी मत ल्याउनेलाई समर्थन गरेर सभापति बनाउने ।

मतदानपछि नेता निधिले भनिसकेका छन्, ‘पहिलो चरणमा सभापति हुँदैन । दोस्रो चरणमा हुन्छ । त्यहाँ पुगेर नेतृत्व हटाउँछौँ ।’ यसको अर्थ देउवाविरुद्ध मोर्चाबन्दी गर्ने भन्ने हो ।



सिंहबाट पनि निधिको जस्तै अभिव्यक्ति आएको छ । डा. कोइरालाले भने पहिलो चरणबाटै निर्वाचित हुने दाबी गरेका छन् । उनको दाबी पुष्टि हुन भने निर्वाचनको परिणाम कुर्नुपर्ने हुन्छ ।

तर, उनको दाबी त्यति बलियो भने छैन । सिटौलाको समर्थनपछि देउवा कमजोर छैनन् । उनले पहिलो चरणमै निर्वाचन जित्ने बताउँदै आएका छन् । उनलाई १३ औँ महाधिवेशनमा सहकार्य गरेका सिटौलाको साथ छ ।

उसो त ६१ जिल्लामध्ये देउवा पक्षले ३२ र सिटौला पक्षले २ गरी ३४ जिल्लामा निर्वाचन पनि जितेका छन् । ६ प्रदेशमध्ये पनि ३ प्रदेशमा देउवा र एउटा प्रदेशमा सिटौला पक्षले सभापति जितेको स्थिति छ । यसरी बलियो देखिएका देउवालाई पहिलो चरणमा रोक्न त्यति सहज कोइरालालाई पनि छैन ।

त्यही भएर देउवाको पनि जोड पहिलो चरणको निर्वाचनबाटै सभापति बन्ने छ । ‘पहिलो चरणबाटै परिणाम निकाल्छौँ । दोस्रो चरणमा जानु हुँदैन’, उनले आइतबार भनेका थिए ।

पौडेल र शशांक चुप बस्दा घाटा !

१३ औँ महाधिवेशनमा देउवाको निकटतम प्रतिद्वन्द्वी थिए वरिष्ठ नेता रामचन्द्र पौडेल । उनकै प्यानलबाट महामन्त्रीमा लडेका थिए शशांक । पौडेल हारे शशांक जिते ।

१४ औं महाधिवेशनमा पौडेलको साझा उम्मेदवार बन्ने र सभापतिमा निर्वाचन जित्ने चाहना थियो । त्यसका लागि उनको जोडबल रह्यो पनि । प्रयास आइतबार बिहानसम्म जारी राखे । सफल भएनन् । विज्ञप्ति जारी गरेर महाधिवेशन प्रक्रियाबाट अलग भएको जानकारी पौडेलले दिए । डा. शशांकको पनि सभापतिको साझा उम्मेदवार बन्ने मन थियो । सहमति नभएपछि उनले एकताका लागि त्याग गर्ने मनसाय बनाए ।

यता, आइतबार साँझ भने डा. शेखरले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दा पौडेल र शशांक मञ्चमा देखिएनन् । मञ्चमा नदेखिएपछि पत्रकारहरूको प्रश्न थियो, ‘तपाईंलाई कसको समर्थन छ ?’

जवाफमा शेखरले वरिष्ठ नेता पौडेल र डा. शशांकको आशीर्वाद रहेको बताए । त्यसको केही घण्टामै प्रधानमन्त्रीसमेत रहेका सभापति पदका उम्मेदवार देउवाको सचिवालयबाट पौडेलका छोरा चिन्तनको 'भनाइ' राखेको समाचार बाहिरियो । केही सञ्चारमाध्यमले त्यसलाई फलो गरे ।

तर, चिन्तनले उक्त समाचारको खण्डन गरे । यद्यपि, यसबारे पौडेल र शशांकले आधिकारिक रूपमा प्रष्ट पारेका छैनन् ।

देउवाको टिमबाट त्यस्तो समाचार आएपछि भने डा. शेखरले बोहोराटार पुगेर पौडेललाई सोमबार बिहान भेट गरेका थिए । जहाँ पौडेलले भनेका थिए, 'देउवालाई मेरो समर्थन रहेको भन्ने खबर अफवाह हो । तपाईंलाई सभापतिमा जितका लागि अग्रिम शुभकामना छ ।'

शेखरलाई सभापतिका लागि शुभकामना दिएका नेता पौडेल मतदान गर्न भने गएका छैनन् । उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नेता पौडेल तटस्थ बस्ने बताए । यता, शशांकले पनि अहिलेसम्म मतदान नगरेको स्रोतले जनाएको छ । यस्तो अवस्थामा देउवालाई फाइदा पुग्ने कतिपयको विश्लेषण छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १९:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया