कांग्रेस महाधिवेशनः दोस्रो चरणबाट देउवा सभापति हुने निश्चित !

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा दोस्रो पटक शेरबहादुर देउवा विजयी हुने निश्चित भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा ५० प्रतिशत मत कटाउन नसकेपछि कांग्रेस महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । कांग्रेस निर्वाचन समितिले दिएको जानकारीअनुसार आज हुने दोस्रो चरणको निर्वाचन ३ बजेबाट सुरु हुनेछ । 

यसअघि भएको पहिलो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवाले २२५८ मत पाएका थिए । उनीसँग प्रतिस्पर्धामा उत्रिएका सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले १७२९ मत पाएका छन् । त्यस्तै, पहिलो चरणको निर्वाचनमा प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाएका छन् । पहिलो चरणबाट सभापतिमा निर्वाचित हुन देउवालाई झन्डै ८० मत पुगेको थिएन । 

पहिलो चरणको नतिजा आएपछि देउवा मंगलबार विहान प्रकाशमान सिंह र विमलेन्द्र निधिको निवासमा पुगेर आफूलाई समर्थन गर्न अनुरोध गरेका थिए । महाधिवेशनको सुरुवात देखि नै शेखर कोइरालासँग रुष्ट बनेका प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने बताइसकेका छन् । उनको समर्थनका कारण देउवाले दोस्रो चरणको सभापति निर्वाचनमा आवश्यक ५० प्रतिशतभन्दा बढी मत ल्याउने निश्चित भएको छ । 

त्यस्तै, मंगलबार विहान नै निधि निवास पनि पुगेका देउवाले निधिको पनि समर्थन पाउने भएका छन् । प्रकाशमान र निधि दुवैको समर्थन पाउँदा केही भोट घटेको खण्डमा र आफूलाई यसअघि परेको मतलाई जोगाउन सकेको खण्डमा देउवाले सहजै ५० प्रतिशत मत कटाउने भएका छन् ।

यसअघिको १३ औं महाधिवेशनमा पनि पहिलो चरणमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धामा उत्रिएका देउवाले ५० प्रतिशत मत कटाएका थिएनन् । सभापतिको दोस्रो चरणको निर्वाचनमा १३ औं महाधिवेशनमा सिटौलाको समर्थन भए पछि देउवा सभापतिमा निर्वाचित भएका थिए ।

१४औं महाधिवेशनमा देउवाइतर पक्षले लामो समयदेखि उनलाई सभापतिमा हराउन प्रयास गरेको थियो । तर, अन्तिम समयमा देउवाइतर पक्षले साझा उम्मेदवार बनाउन सकेको थिएन । कांग्रेसमा संस्थापन इतर पक्षले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्दा देउवाको पक्षमा माहोल बनिसकेको थियो । 



सिटौलाको साथ पनि पाएका देउवाले यसपटक पहिलो चरणमा नै सभापतिमा निर्वाचित हुने रणनीतिमा काम गरेका थिए । तर, विमलेन्द्र निधिले उनको समूहबाट विद्रोह गरेकाले सिटौलालाई आफ्नो समर्थनमा लिएर पनि उनको रणनीतिले पूर्णरुपमा काम गर्न सकेन । 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया