कांग्रेस महाधिवेशन : आफ्नै प्रदेशका प्रतिनिधिले नै पत्याएनन् निधिलाई

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले २४९ मत प्राप्त गरेका छन् । मधेसमा उदाउँदो नेताको छवि बनाएका निधिलाई यस महाधिवेशनमा मधेसबाट समेत प्रत्याशित मत आएन ।

निधिले प्रदेश–२ बाट कांग्रेसको प्रतिनिधित्व गर्ने पुराना नेताहरूलाई महत्व नदिनुका साथै महाधिवेशन प्रतिनिधि छनोट गर्न पदको दुरुपयोग गरेकोले समेत यस्तो स्थिति सिर्जना भएको हुनसक्ने यहाँका केही राजनीतिक विश्लेषक बताउँछन् ।  

महाधिवेशन प्रतिनिधि कोमलकान्त झाले पहिलो चरणको चुनावले सत्ताको दुरुपयोग गरिएको प्रमाणित भएको बताए । उनले भने, ‘प्रदेश–२ बाट समेत निधिलाई कम मत आउनुले सत्ता र पदको दुरुपयोग भएको प्रमाणित गर्दछ ।’ 

राजनीतिक विश्लेषक रोशन जनकपुरीले विमलेन्द्र निधिलाई यस महाधिवेशनले आफू कांग्रेसभित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताए । 

उनले भने, ‘निधिलाई उनी आफू कांग्रेस भित्र मधेश तर्फको पिलर रहेको भ्रम थियो, जुन पिलर भत्किएको छ । मधेशमा अधिकारका लागि भएको आन्दोलनले समेत महाधिवेशनमा प्रभाव पारेको छ ।’ उनले मधेश आन्दोलनमासमेत निधिमा कुनै प्रकारको लिगेसी नरहेकाले प्रदेश–२ बाट समेत सोचे अनुरुप मत पाउन नसकेको बताए ।  

महाधिवेशन प्रतिनिधि प्रफुल्लराज घिमिरेले प्रदेश–२ का कांग्रेसीजन पद र अवसरको लोभमा लागेकोले यस प्रदेशबाट समेत निधिले सोचे अनुरूप मत नपाएको बताए । एकजना महाधिवेशन प्रतिनिधिका अनुसार निधिले धनुषाबाट समेत पुरै मत पाउन सकेनन् । धनुषाबाट उनलाई करिब ६० वटा मत मात्रै परेको अनुमान छ । 



प्रदेश–२ का मतदाताहरूको बहुमत सदस्यको समर्थन पाएको भए निधि कांग्रेसको बलियो मधेसी छवि भएको नेताको रुपमा उदाउने सम्भावना थियो तर त्यसमा पनि उनि चुकेका छन् ।  

निधिले निर्वाचनको तयारीमा समेत चुकेको र सिमित घेरामा रहेकाले यति थोरै मत आएको राजनीतिका जानकारहरू बताउँछन् । शेरबहादुर देउवा खेमाको बलियो नेताको रुपमा परिचित निधिले देउवालाई जिताउन १३ औँ महाधिवेशनमा तनमनले लागेका थिए । 



देउवाले पहिलो रुचाएका व्यक्ति निधि नै थिए । उनी उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टीका उपसभापतिसम्म भएका छन । तर, १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा र निधि बिच खटपट सुरु हुनुका साथै पुराना साथीहरूले समेत निधिको साथ छाडेका थिए । 

विगतमा निधिको विश्वास पात्रको रूपमा रहेका महेन्द्र यादव, आनन्दप्रसाद ढुंगानाले समेत उनको साथ छोडेपछि प्रदेश–२ बाट महाधिवेशनमा उनले पर्याप्त साथ नपाएका हुन् । ढुंगानाले निधि आफ्नै विरुद्धमा लागेपछि आफूले उनको साथ छोडेको बताए । 

सप्तरीको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरी १०४ जना, सिराहा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरि १०५, धनुषाको चारवटै निर्वाचन क्षेत्रबाट २६/२६ जना गरी १०४, महोत्तरीको क्षेत्र नम्बर ३ बाहेक बाँकी क्षेत्रबाट २६/२६ गरी ७८, रौतहट १ बाट २७, २ बाट २६, ३ बाट २८ र ४ बाट २६ गरी १०७, सर्लाही १ बाट २५ र २, ३ तथा ४ बाट २६/२६ गरी १०३, बारा १ बाट २६, २ बाट २७ र ३ तथा ४ बाट २६/२६ गरी १०५ र पर्सा १, २ र ४ बाट २६/२६ तथा ३ बाट २५ गरी १०३ जनासहित कुल ८०६ महाधिवेशन प्रतिनिधि रहेका छन् ।  

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:५४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया