नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभापति पदको लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो हृदयलाई सोधेर परिवर्तनको पक्षमा मत दिन आव्हान गरेका छन् ।
दोस्रो चरणमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएपछि थापाले यस्तो आव्हान गरेका हुन् ।
‘आज निर्णय गर्ने बेला आएको छ । तपाईंको एक भोट आज यो मतदानको लाइनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान–विन्दु हुनेछ,’ थापाले भनेका छन् ।
एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरुको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न उनले महाधिवेशन प्रतिनिधिलाई आव्हान गरेका छन् ।
‘नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईंहरुले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ,’ उनले अपीलमा भनेका छन् ।
कांग्रेसको राजनीतिमा जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण भएको उनले जनाएका छन् ।
महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएकोले निर्वाचनमा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्नुपर्ने समेत उनले बताएका छन् ।
‘संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ? हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ,’ थापाले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।