कांग्रेस महाधिवेशन : बाँकी पदाधिकारीको मतगणना आजबाटै सुरु हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबारबाट भएको निर्वाचनको मतगणना आज अपराह्नबाट सुरु हुने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मतगणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो । निर्वाचन संयोजक गोपालकृष्ण घिमिरेले आज अपरान्हबाट मत गणना सुरु गरिने सञ्चारकर्मीलाई जानकारी दिए ।

उनका अनुसार पदाधिकारीको मतगणना गरिने छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन भएको थियो । पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतादन भएको थियो । 

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । गएराति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २ हजार ७३३ मत प्राप्त गरेका छन् ।

सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १ हजार ८५५ मत पाएका छन् । दोस्रो चरणको निर्वाचनमा कुल ४ हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको छ ।
 
सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने निर्वाचन संयोजक घिमिरेले जानकारी दिए ।  

कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहकाबीच कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो । 



मतदानका लागि राष्ट्रियसभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।  



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ६:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया