कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका दुईजना संक्रमणमुक्त भए । दुवै जनाकाे मंसिर २१ गते रिपोर्ट नेगेटिभ आएकाे हाे । दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र ७१ वर्षीय नेपाली नागरिकमा मंसिर १९ गते ओमिक्रोन पुष्टि भएको थियो।
संक्रमण भएको दुई दिनमै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।
दुवै जनामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै नेपालमा पनि त्रास फैलिएको थियो । सर्वसाधारणमा समेत नयाँ भेरियन्टलाई लिएर चिन्ता र चासो बढ्याे । दुवैजना संक्रमणमुक्त भएसँगै यतिबेला देशमा नयाँ भेरियन्टका एउटा पनि संक्रमित छैनन् ।
दैनिक १३ हजारभन्दा बढीको स्वाब परीक्षण गर्दा २ देखि तीन सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । तर पनि अहिलेसम्म नयाँ भेरियन्ट ओमिक्रोन नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । ‘दुईजना संक्रमणमुक्त भएपछि अहिलेसम्म थप कसैमा पनि नयाँ भेरियन्ट देखिएको छैन’, प्रवक्ता पौडेलले भने ।
नयाँ भेरियन्टबाट बच्न र त्यसलाई पत्ता लगाउनेगरी दुवै किसिमले स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ। एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ आएकाहरू सबैको जिन सिक्वेइन्स गर्ने काम भइरहेको प्रवक्ता डा. पौडेलले बताए ।
देशभरका सीमानाकामा रहेका हेल्थ डेक्समा पनि एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ देखिएकाहरू सबैको जिन सिक्वेइन्स भइरहेको उनको भनाइ छ । त्यसका लागि हेल्थ डेक्समा स्वाब संकलन गरेर जिन सिक्वेइन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पठाइँदै आइएको छ ।
नेपालभारत सीमा जोडिएका नाकाहरूबाट नेपाल भित्रिने सबैको एन्टिजेन परीक्षण हुँदै आएको प्रवक्ता डा. पौडेलले बताए । एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ देखिएका केसहरूलाई जिन सिक्वेइन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदै आएको हो ।
‘जिन सिक्वेइन्सलाई तीव्रता दिएका छौं । व्यापक रूपमा नै भइरहेको छ । तर, अहिलेसम्म नयाँ भेरियन्टका थप संक्रमित देखिएका छैनन्’, प्रवक्ता डा. पौडेलले भने।
प्रदेशस्तर र स्थानीय स्तरका प्रयोगशालामा जिन सिक्वेइन्स गर्न सकिने प्रविधिको विकास भइसकेको छैन । त्यसका लागि केन्द्रीय प्रयोगशालामा मात्रै पठाउनुपर्छ । हेल्थ डेक्सहरूले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत् जिन सिक्वेइन्सका लागि संकलित स्वाब काठमाडौं पठाउने गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।
‘कोरोनाको पुराना भेरियन्टहरू पत्ता लगाउन स्थानीय प्रयोगशालाहरू नै सक्षम छन् । तर, नयाँ भेरियन्ट ओमिक्रोनका लागि जिन सिक्वेइन्स गर्नुपर्छ । त्यो स्थानीय प्रयोगशालामा गर्न सकिँदैन । त्यसका लागि हामीले काठमाडौं पठाइरहेका छौं । अहिलेसम्म नयाँ भेरियन्ट त फेला परेको छैन’, निर्देशक डा. अवस्थीले भने ।
सबै नमुनाको जिन सिक्वेइन्स गर्नुपर्दैन
कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउने विधि हो- जिन सिक्वेइन्स । भाइरसको जेनेटिक (अणुवंशिक) बनावटलाई डिकोड गर्ने परीक्षण नै जिन सिक्वेइन्स हो । जिन सिक्वेइन्सबाट भाइरसमा भएको म्युटेन्ट (उत्परिवर्तन) पत्ता लगाउन सकिन्छ । जिन सिक्वेइन्सबाट मात्र कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण छ वा छैन भन्ने पत्ता लाग्छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोथशालाले तीन महिना अघिबाट मात्रै जिन सिक्वेइन्स गर्न थालेको हो । प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार जिन सिक्वेइन्सका लागि निश्चित रणनीति र मापदण्ड तय गरिएको छ । सोही आधारमा मात्र जीन सिक्वेइन्स गरिँदै आएको उनको भनाइ छ ।
अहिले दैनिक दुईदेखि तीन हजारको हाराहारीमा पिसिआर परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा आउने गरेका छन् । तर ती सबैको जिन सिक्वेइन्स गर्नु नपर्ने सूचना अधिकारी गुप्ताले बताए ।
देशभरबाट संकलन हुने पोजेटिभ नमुनाको जिन सिक्वेइन्स दुई चरणमा गर्दै आएको उनको भनाइ छ । पहिलो पीसीआर परीक्षण र दोस्रो भनेको पीसीआरमा कोरोना पोजिटभ र एस जीन नेटेगिभ आएको केसको मात्र जीन सिक्वेइन्स गरिने गुप्ताले बताए ।
जिन सिक्वेइन्समा चारवटा जिन परीक्षण गरिन्छ । जसमा एस जिन, आरडीआरपी जिन, ओआरएफ जिन र एनजिन रहेका छन् । यसअघिका कोरोना भाइरसमा सबै जिन पोजेटिभ आउँथ्यो । तर, ओमिक्रोनको भेरियन्टको हकमा भने पिसिआर पोजेटिभ र एस जिन म्युटेसन नेगेटिभ आएको नमूनाको मात्र जिन सिक्वेइन्स गरिने उनको भनाइ छ ।
देशभरबाट नमूना संकलन
नेपालमा ओमिक्रोन भेरियन्टको थप संक्रमण हुन नदिन नेपालले थुप्रै कार्यक्रम अघि बढाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल बताउँछन् । स्वास्थ सेवा विभागले देशभरका सीमाक्षेत्रमा राखिएका हेल्थ डेक्सलाई नेपाल भित्रिने सबैको एन्टिजेन परीक्षण गर्न निर्देशन दिइसकेको छ ।
एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ आउने केसहरूलाई जिन सिक्वेइन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने परिपत्र गरिसकिएको छ । सोही आधारमा हेल्थ डेक्समा संकलन भएका नमूनाहरू स्थानीय प्रयोगशाला र प्रादेशिक स्वास्थ्य निर्देशनालयमार्फत् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेइन्सका लागि पठाउने काम भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहले बताए ।
यसका साथै कोरोनोको नयाँ भेरियन्ट देखिएका देशसँगको हवाइ उडानसमेत बन्द गरिएको छ । अन्तर्राष्ट्रिय एयरपोर्टमा समेत स्वास्थ्य परीक्षण, पिसिआरका स्वाब संकलन, खोप नलगाई आएकाहरूको हकमा अनिवार्य तोकिएको क्वारेन्टिनमा बस्ने व्यवस्थाजस्ता उपाय अबलम्बन गरिएको प्रवक्ता डा. पौडेलले बताए ।
सरकारले आफ्नो तर्फबाट सक्ने काम गरिरहेको र आम सर्वसाधारणले पनि जनस्वास्थ्यका मापदण्ड अपनाएर महामारी नियन्त्रणमा सहयोगी भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
डब्लुएचओको कडा चेतावनी
ओमिक्रोन भेरियन्टलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कडा चेतावनी दिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको भन्दै यसलाई अवमूल्यन नगर्न सबैमा आग्रह गरेको हो । यसको बेवास्था गरे स्वास्थ्य प्रणाली नै अस्तव्यस्त हुने डब्लुएचओको चेतावनी छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीब्र गतिमा ओमिक्रोन फैलिरहेको भन्दै बेवास्था नगर्न सबैमा आग्रह गरे ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोसले ओमिक्रोन यसअघि देखेका र भाोगेका भरियन्टभन्दा फरक गतिमा फैलिरहेको बताए ।
उनका अनुसार अहिलेसम्म ७७ वटा देशमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेका छन् । केही मानिसहरूले यसलाई सामान्य भेरियन्ट भन्दै बेवास्था गरेको भन्दै अबको केही दिनमै यूरोपका धेरै देशमा निकै समस्या निम्त्याउन सक्ने बताए ।
उनले ओमिक्रोनको नाममा केही देशले बुस्टर डोज लगाउन थालेकोप्रति समेत असन्तुष्टि जनाए । अन्तर्राष्ट्रियस्तरमा खोपमा देखिएको असमानता ओमिक्रोनपछि थप बढेको भन्दै महामारी अन्त्यका लागि बुस्टर डोजभन्दा पहिला सबैलाई अनिवार्य खोप दिनुपर्ने तर्क गरे ।
कोरोनाको ओमिक्रोन भेरियन्ट कसरी आइपुग्यो नेपाल ?
के नेपालमा फेरि लकडाउन हुँदै छ ?
नेपालमा २ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि
नेपालमा ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।