एसिया कप : बलियो राष्ट्रसँग सुखद नतिजा निकाल्ने लक्ष्यमा नेपाली युवा टोली

युनाइटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एसिसी यु–१९ एसिया कपका लागि नेपाली युवा खेलाडीले तयारी तीव्र पारेका छन् । उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो राष्ट्रको परिचय पाएको नेपालले प्रतियोगितामा टेस्ट मान्यता टोलीसँग पनि प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपपछि कै ठूलो प्रतियोगिताको रूपमा हेरिने एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुरस्थित त्रिवि मैदानमा तयारीलाई तीव्रता दिइरहेको छ । एक सातापछि हुने  प्रतियोगितामा लागि नेपाली युवा टिमले तयारीलाई तीव्रता दिएको हो ।

कोरोना महामारीका कारण तय भएका केही ठूला प्रतियोगितामा सहभागी हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय भ्रमण गर्न लागेको हो । एसिया कपमा नेपालले बंगलादेश, श्रीलंकासहित कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बंगलादेश र श्रीलंका टेस्ट मान्यता प्राप्त टोली हुन् ।

हालै सकिएको वाईवाई यु-१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ अभ्यासलाई तीव्रता दिइरहेका छन् । एसिया कपका लागि नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका वसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ खेलाडीले मिहिनेत गरिरहेको र सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताए ।

यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर टोलीमा अटाएका खेलाडीले कम्तिमा पनि ६ म्याच खेल्न पाएका कारण तयारीमा सहयोग पुगेको पनि शाहीले बताए । राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि सहयोग पुगेको बताउँदै उनले युवा खेलाडी रहेका कारण टिम सन्तुलित रहेको र बलियो राष्ट्रसँग राम्रो चुनौती दिनेमा आशावादी रहेकाे विश्वास व्यक्त गरे ।

मुख्य प्रशिक्षक शाहीले यु-१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडी टिममा समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए । तर खेलाडीको फिटनेश र बलिङमा अझै सुधार गर्नुपर्ने उनले बताए । त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा गरेका छन् ।



प्रतियोगितामा नेपाललाई टेस्ट मान्यता प्राप्त टोलीलाई हराउने मौका छ । समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्नेछ । 

नेपाली टोलीका कप्तान देव खनाल पनि प्रशिक्षकले भनेजस्तै अहिलेको टोलीमा दुवै पक्ष ब्याटिङ/बलिङ राम्रो रहेको बताउँछन् । हालै सम्पन्न वाईवाई यु–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले व्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसला मिलेको बताए ।



अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए । वर्षाका कारण विश्वकप छनोट खेल गुमाएको पीडालाई भुलाइ लक्ष्य र आइसिसीलाई दाबेदार टोली गुमाउन परेको सन्देश दिन चाहेको बताए ।

२३ डिसेम्बरबाट युएईमा हुने प्रतियोगितामा ८ टोली एकदिवसीय प्रारूपमा प्रतिस्पर्धा गर्नेछन् ।  प्रतियोगितामा टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह 'बी' मा रहेको छ । 

समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध २३ डिसेम्बरमा युनाइटेड अरब इमिरेट्सको शारजाहमा खेल्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । साे खेल २६ डिसेम्बरमा  हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध २८ डिसेम्बरमा खेल्नेछ । यस्तै, समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल म्याच ३० डिसेम्बरमा हुने छन् । फाइनल खेल १ जनवरीमा हुने तालिका छ । 

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया