नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आराेप लगाएका छन् । शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा गुरुङले देउवालाई यस्तो आरोप लगाएका हुन् ।
‘मेरो सभापति शेरबहादुरजीसँग आग्रह छ । तपाईं जित्नु भयो, के के गरेर जित्नु भयो ? के सौदा गर्नुभयो ? कहाँकहाँ कसलाई कुनामा लिएर जानु भयो ? त्यो तपाईंका कुरा, हामी औँला उठाउँदैनौँ,' उनले भने, ‘प्रजातन्त्रमा हारलाई स्वीकार गर्ने स्वभाव प्रजातन्त्रवादीहरूको हुनुपर्छ । थाहा छ हामीलाई के के भएको हो ? अहिले यत्रो विधि पत्रकारहरू, तपाईंहरूको अगाडि भन्दिनँ । मेरो स्तरले त्यो सुहाउँदैन् ।’
गुरुङले देउवालाई पार्टीभित्र व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्रधान मानेर काम गरे आफूहरूले पनि सहयोग गर्ने बताए ।
उनले भने, ‘जे गरेर जिते पनि हाम्रो नेता तपाईं, तपाईं हाम्रो सभापति । हामी तपाईंलाई सहयोग गर्न तयार छौँ । तर, त्यो सहयोगको सर्त के भयो भने पार्टीलाई नीति प्रधान बनाउनु होस् ।अनि हामी सहयोग गर्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।