शेखर कोइरालाः सभापतिमा पराजित तर निकालेको यो एउटा जित

लामो समयदेखि नेपाली कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको बहस चल्न थालेकाले कांग्रेसको १४ औं महाधिवेशनले छान्ने नेतृत्व कांग्रेसको दोस्रो पुस्ता हुने धेरैको अनुमान थियो । 
तर, यो अनुमान अहिले फेल खाएको छ । नेपाली कांग्रेसले आफ्नो शीर्ष नेतृत्वका रुपमा सभापतिमा दोस्रो पटक शेरबहादुर देउवालाई निर्वाचित गरेको छ ।

देउवासँग सभापतिका लागि अन्तिमसम्म चुनावी मैदानमा थिए, डा. शेखर कोइराला ।

सभापतिका लागि भएको निर्वाचन दोस्रो चरणमा पुगेपछि फेरि माथिकै अनुमानले निरन्तरता पाएको थियो । मंगलबार विहान आएको पहिलो चरणको निर्वाचनको नतिजापछि केही राजनीतिक विश्लेषकले भन्न थालिसकेका थिए, कांग्रेस सभापतिमा अब कोइराला निर्वाचित हुन्छन् । 

तर, यो अनुमान फेल खान केही घन्टा मात्र लाग्यो । देउवालाई जसै प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गर्ने घोषणा गरे, डा. कोइरालानिकट नेताहरुमा एउटा ठूलो भूकम्प आएको महसुस भयो । नहोस् पनि किन पहिलो चरणबाट सभापतिमा कोही निर्वाचित नभएको खण्डमा उनीहरुले दोस्रो चरणमा शेखर कोइराला निर्वाचित हुने अनुमान गरिसकेका थिए ।

बुधबार दिउँसो काठमाडौंको लाजिम्पाटमा भेटिएका शेखर कोइराला प्यानलका एक नेताले भने, ‘प्रकाशमान सिंहले चाक्सीबारीमा जसै देउवासँग उभिएर आफ्नो समर्थनको घोषणा गरे, हामी ठूलो सरप्राइजमा परेका थियौँ, मलाई पनि चसक्क भएको जस्तो महसुस भयो ।’

उनले विमलेन्द्र निधिले समेत आफूहरुलाई सहयोग गर्ने पहिले अनुमान गरेको कुरा गरे । ‘निर्वाचनअघि दोस्रो चरणमा पुग्दा निधिले समेत हामीलाई सहयोग गर्न सक्छन् भन्ने हाम्रो अनुमान थियो,’ उनले भने, ‘तर, प्रकाशमान, शशांक र रामचन्द्र दाइले समेत देउवालाई समर्थन गर्ने घोषणा गर्दा हामी चकित हुन स्वभाविक थियो ।’



कांग्रेसमा अरु सबै ‘पोल’का नेताहरुले सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने भए पछि यो स्वभाविक थियो, उनी सभापतिमा दोस्रो पटकका लागि निर्वाचित हुँदैछन् । 

तर, शेखर कोइराला र उनको समूहका नेताहरु हतोत्साहित भने थिएनन् । मंगलबार दिउँसो नै पत्रकार सम्मेलन गरेर कोइरालाले यो पुष्टि पनि गरे । उनले त्यो पत्रकार सम्मेलनमा आफू सभापतिमा देउवाविरुद्ध लड्ने मात्र बताएनन्, पूरा कन्फिडेन्सका साथ भने– म निर्वाचनमा जित्ने पनि छु ।



गणितीय हिसाबमा लेखाजोखा गर्दा उनले भनेको यो कुरा असम्भवप्रायः थियो तर पोलिटिकल्ली शेखरको यो अभिव्यक्ति करेक्ट थियो । 

बुधबार दिउँसो आफू सभापतिमा पराजित भए पछि पनि एक कार्यक्रम गरेर शेखरले आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद मात्र दिएनन्, पोलिटिकल कल्चर पनि देखाए ।

सभापतिमा पराजित भए पनि शेखरले पछिल्लो समय दिएका अभिव्यक्तिका कारण पनि उनी कांग्रेस राजनीतिमा स्थापित हुनका जसरी लागिरहेका छन्, यसले उनले ‘जित’ निकाल्ने निश्चित भएको छ ।

राजनीतिमा पदीय हैसियतमा हार्नु भनेको पराजित हुनु होइन, यसले राजनीतिमा स्थापित हुनका लागि थप सहयोग गर्छ । शेखरको हकमा पनि त्यस्तै भएको छ । 

यसको सुरुवात बुधबारको कार्यक्रममा पनि देखिएको छ । बुधबारको कार्यक्रममा उपस्थित भएका नेताहरु यसअघि रामचन्द्र पौडेल समूहका नेताहरुको नाममा गनिन्थे । तर, अब उनीहरुले शेखरलाई कांग्रेसमा एउटा गुटको नेतृत्वमा विश्वास गरेका छन् । 

भलै शेखर कांग्रेसको नेतृत्वमा विजयी हुन सकेका छैनन्, उनले कांग्रेसमा आफ्नो नेतृत्वमा एउटा गुटको सुरुवात गरेका छन् । अब यसअघिजस्तो संस्थापनइतर भनेर रामचन्द्र पौडेल चिनिने छैनन्, शेखर कोइराला चिनिने छन् । सुशिल कोइरालाको निधनपछि अब कोइराला परिवारबाट कांग्रेसको राजनीति थाम्न काँध थापेका शेखर त्यसैले पराजित भएका विजयी पात्र हुन् ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २१:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया