कप्तानको जिम्मेवारी ज्ञानेन्द्रबाट खोसेर सन्दीपलाई : के हो खास विवाद ?

नेपाल क्रिकेट संघ (क्यान)को बुधबार बसेको बोर्ड बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ  कप्तान बनाउने निर्णय गरेको छ ।

क्यानले ज्ञानेन्द्र र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाहीस्वरूप सन् २०२२ को सेन्ट्रल कन्ट्रयाकबाट ६ महिना बाहिर राख्ने निर्णयसमेत गरेको छ ।

नेपाल क्रिकेट संघको अनुशासन उल्लंघनसमबन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम खेलाडी आचारसंहिताको उल्लंघनमा चार खेलाडी कारबाहीमा परेको क्यानमा कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

के हो खास विवाद ?

केही महिनाअघि क्यानले २०२१ को ग्रेड सार्वजनिक गर्न नसकेर २०२० को ग्रेडलाई आधार मानेर सुरुवाती ६ महिना तलब दियो । बल्लतल्ल बाँकी ६ महिनाका लागि ग्रेड टुङ्गो लागे, तर क्यानले त्यसलाई सार्वजनिक गर्ने आँट गर्न सकेन ।

ग्रेड निर्धारण गुपचुप राख्न खोजे पनि बाहिरियो । त्यसपछि केही खेलाडीले सार्वजनिक रूपमा नै त्यसको आलोचना गरे ।



सुरुमै प्रश्न क्यानमाथि नै उठ्छ । ग्रेड सही र न्यायपूर्ण थियो भने सार्वजनिक किन गर्न सकिएन ? कसरी स्थिति यहाँसम्म पुग्यो कि आन्तरिक छलफलबिना कप्तानसहित चार खेलाडीले ग्रेडबारे मिडियामै गएर बोले ।

त्यसैलाई कारण देखाउँदै सुरु भएको स्पष्टीकरण प्रकरण अहिले प्रतिबन्ध लगाउनेसम्मको अवस्थामा आइपुगेको छ ।



ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कात्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टि जनाउँदै मिडियामा बोलेका थिए ।

सोमपालले आफूलाई 'बी'मा पारेर अन्याय गरेको बताएका थिए । 'सी'मा परेका कमल पनि सन्तुष्ट थिएनन्, त्योभन्दा बढी उनी अन्य खेलाडीको ग्रेडबारे असन्तुष्ट थिए ।

ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड 'ए'मा थिए । यद्यपि, उनीहरूले ग्रेडमा केन्द्रित रहेर आलोचना गरेका थिए । खेलाडीले ग्रेडमा असन्तुष्ट रहेको सार्वजनिक रूपमा बोलेपछि क्यानले एक्सन थाल्यो ।

क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोध्यो । उनीहरूले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर, क्यान सन्तुष्ट देखिएन । यो विवाद यतिकैमा मथ्थर भएन ।

कप्तान मल्लसहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गीकरणबारे स्पष्टीकरण सोधे ।

त्यसपछि विवाद झन् बढ्दै गयो । क्यानले फेरि मंसिर ८ मा तीन दिनको समय दिँदै खेलाडीसँग दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।

दोस्रो पटकको स्पष्टीकरणमा पुरानै कुरा दोहोरिएको, चित्त बुझ्दो जवाफ नआएको र  क्यानले खेलाडीले बोर्डविरुद्ध बोलेको भन्दै कारबाही गर्ने बताएको थियो ।

क्यान र खेलाडीबीच विवाद चलिरहेको समयमा क्यान सदस्य छुम्बी लामा,  कप्तान मल्ललगायतका केही खेलाडीले राखेप सदस्य सचिव टंकलाल घिसिङलाई भेटेका थिए यसले पनि क्यान थप रुष्ट भएको अनुमान लगाउन सकिन्छ ।

क्यान सधैँ विवादमा

क्यान विवादमा पर्नु कुनै नयाँ कुरा होइन । यस्तै विवादका कारण क्यानले करिब ४ वर्ष आइसिसीको प्रतिबन्ध खेपेको थियो । पछिल्ला २ वर्ष क्यानको कार्यशैलीप्रति निकै असन्तुष्टि रहँदै आएको छ ।

क्यानलाई नजिकबाट नियालिरहेकाको भनाइमा आफूविरुद्ध बोलेकै भरमा खेलाडीलाई करबाही गर्नु त्यति न्यायपूर्ण होइन । क्यानले आफ्नो कार्यको समीक्षा गर्दै खेलाडी किन यो अवस्थामा पुगे भन्ने बुझ्नु जरुरी हुन्छ ।

खेलाडीले पनि आफ्नो अभिभावक संस्थाको विषयमा मिडियामा गएर बोल्नुको सट्टा अन्तरिक छलफलबाट समस्याको समाधान गर्नेतर्फ लाग्नु उचित हुने कतिपयको तर्क छ ।

यसबाट दुवै पक्षले पाठ सिक्दै आआफ्नो कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुको विकल्प छैन ता कि आगामी दिनमा यस्ता घटना नदोहोरिउन ।

खेलाडी र क्यानबीच यस्तै विवाद बढ्दै जाने हो भने नेपाली क्रिकेटले यसको ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । यसले फेरि क्यान निलम्बनमा नपर्ला भन्न सकिन्न ।

खेलाडीमा मनोवैज्ञानिक दबाब

नेपालले अबको केही महिनापछि आइसिसी विश्वककप ग्लोबल छनोट खेल्दैछ । यति ठूलो प्रतियोगिताअघि प्रमुख खेलाडीमाथि कारवाही हुँदा यसले अन्य खेलाडीमा पनि मनोवैज्ञानिक दबाब पार्ने खेल जानकारको भनाइ छ ।

युवा खेलाडी सन्दीप लामिछाने पहिलोपटक सिनियर राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै छन् यसले उनीमाथि झन् मनोवैज्ञानिक दबाब पार्नेछ ।

उनले पछिल्लोपटक एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किङ्ग्स ११ को कप्तानी गरेका थिए तर टोलीको प्रदर्शन भने राम्रो हुन सकेन ।

सन्दीपसँग खेल अनुभवको कुनै कमी छैन तर उनले यति ठूलो प्रतियोगितामा कप्तानी गर्नु पर्दाको दबाबलाई झेल्न सक्छन् वा सक्दैनन् त्यो त समयले नै बताउला । ठूलो प्रतियोगिताको मुखैमा यसरी कप्तान फेरिँदा त्यसको असर टोलीको प्रदर्शनमा पर्ने देखिन्छ ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २१:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया