गत २४ घण्टाको अवधिमा बेलायतमा हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन अहिलेसम्मकै बढी ७८ हजार ६१० जना संक्रमित थपिएका हुन् ।
बेलायतमा यो संख्या कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । यसअघि ८ जनवरीमा ६८ हजार ५३ जनामा कोरोना पुष्टि भएको थियो । बुधबार सो रेकर्ड तोड्दै बेलायतमा एकैदिन ७८ हजार ६१० जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, गत २४ घण्टामा त्यहाँ १६५ जना संक्रमतिको मृत्यु भएको छ । सोही अवधिमा बेलायतमा ४३ हजार ३९५ जना भने संक्रमणमुक्त भएका छन् ।
एक पत्रकार सम्मेलनमा बेलायतका प्रमुख चिकित्सा अधिकारी प्रो क्रिस व्हिट्टीले कोरोना संक्रमण तीव्र गतिमा बढिरहेकाले सावधानी अपनाउन ढिलाइ गर्न नहुने बताएका छन् । उनले आगामी केही सातामा अझै संक्रमितको संख्या बढ्नसक्ने पनि चेतावनी दिएका छन् ।
त्यस्तै, प्रधानमन्त्री बोरिस जोनसनले सबैभन्दा महत्वपूर्ण कुरा तत्काल सबैलाई बुस्टर डोज लगाउनु आवश्यक रहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।