बझाङमा तलब नपाएपछि शिक्षकहरूले विद्यालयमा तालाबन्दी गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको मजखोरी माविमा कार्यरत निजी स्रोतका शिक्षकहरूले बुधबार विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।
१८ महिनासम्म पनि तलब र अन्य सेवा सुविधा नदिएको भन्दै आफूहरूले विद्यालयमा तालाबन्दी गर्न बाध्य भएकाे बताए ।
शिक्षकहरूको तलब वृद्धिका लागि पटकपटक विद्यालय प्रशासनलाई आग्रह गरेको भएपनि विद्यालय प्रशासन गम्भीर नदेखिएको शिक्षक हरि जप्रेलको भनाइ छ ।
उनले भने, ‘पटकपटक विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनसँग तलबको बारे जानकारी गराउँदा समेत कुनै निष्कर्ष ननिस्केपछि विद्यालयमा ताला लगाएका हौं । अझै विद्यालय प्रशासन गम्भीर नभए थप कदम चाल्न बाध्य हुने छौं ।’
अर्का शिक्षक नरेश मण्डेलले विद्यालयले खर्चमात्र देखाएर आफूहरूकाे तलब राेकेकाे गुनासाे गरे ।
विद्यालयमा काम गर्ने निजी स्रोतका शिक्षकहरूले काम गरेको सेवा सुविधा यति लामो समयसम्म रोकेर शिक्षकहरूको पीडा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले नबुझ्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा शिक्षकहरूलाई तलब भत्ता खुवाउन नसकिएको बताएका छन् ।
उनले भने, ‘विद्यालयमा आउने पुरानो स्रोतबाट शिक्षकहरूलाई तलब खुवाउने गरेको भए पनि अहिले पुरानो लगानी असुल गर्न नसक्दा तलब खुवाउन नसकिएको हो । स्थानीय सरकारले पनि कुनै चासो दिएको छैन । अन्य निकायबाट पनि सहयोग नभएपछि तलब खुवाउन सकिएको छैन ।’
केही दिनभित्र नै निजी स्रोतका शिक्षकलाई तलबभत्ता दिने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।