प्रदेश १ मा आकांक्षी धेरै हुँदा माओवादीलाई प्रदेश पदाधिकारी छान्न सकस

प्रदेश १ मा माओवादी केन्द्रलाई नेतृत्व छान्‍न सकस परेको छ । गत सोमबार नै प्रदेश अधिवेशन सम्पन्न भएपनि नेतृत्वमा धेरै आकांक्षी हुँदा अहिलेसम्म पदाधिकारी छनौट हुन नसकेकाे हाे ।

अधिवेशनमा अध्यक्षका प्रत्यासी धेरै भएपछि नेतृत्वले सहमतिको खोजी गरी साझा नेतृत्व छान्न बुधबारको बैठकबाट पदाधिकारी टुंगो लगाउने विकल्प दिएको थियो। सोहीअनुरूप प्रदेश सदस्यहरूको बैठक बुधबार विराटनगरमा डाकिएको थियो । बैठकमा अध्यक्षको दाबी एकभन्दा बढीले गरेका थिए । 

अध्यक्षका प्रत्यासी धेरै भएपछि धेरैजसो प्रदेश सदस्यहरूले चुनावी प्रक्रियामा जान दवाब दिएका थिए । तर, हाइकमाण्डले चुनावमा जान नदिएपछि बुधबारको बैठक पनि नेतृत्व चयन नगरी टुंगिएको छ । 

माओवादी केन्द्र प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन गरेको छ । सहमतिबाटै नेतृत्व चयनको पहल गर्न पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशका सहइञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा कार्यदल गठन गरेको हो ।

मंसिर २५ देखि २७ गतेसम्म भएको सम्मेलनबाट माओवादी केन्द्रको प्रदेश कमिटी चयन भए पनि पदाधिकारी चयन हुन सकेको छैन । 

प्रदेशको अध्यक्षको दावी गर्दै आएका पार्टीका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले भने बुधबारको बैठकमा आफ्नो दावेदारी फिर्ता भएको जानकारी दिएका छन् ।



प्रदेश समितिको पहिलो बैठकमा आफूहरू ‘ब्याक’ हटेको जानकारी दिएसँगै अब केन्द्रीय सदस्य बाहेकबाट पदाधिकारी चयन हुने भएको छ । पदाधिकारी चयन गर्न पुस ७ गते बैठक बस्ने निर्णय मंगलबारको बैठकले गरेको छ ।

केन्द्रीय सदस्यहरूले दावेदारी छाडेपछि अब नयाँ नेतृत्व चयनको पहल गर्न कार्यदल गठन गरिएको केन्द्रीय सदस्य सावित्रीकुमार काफ्लेले बताए । उनले कार्यदलले आगामी बैठकमा आफ्नो सुझाब राख्ने र प्रदेश समितिले त्यसको टुंगो लगाउने जानकारी दिए ।



कार्यदलमा यसअघि प्रदेश अध्यक्षको दावी गर्दै आएका राई, आङ्बो र भण्डारीसहित केन्द्रीय सदस्य रामकुमारी चौधरी सदस्य छन् । 

माओवादी केन्द्रको विधानअनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटीले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

अध्यक्षमा तीन जनाको दावी पदाधिकारीमा को को ? 

माओवादी केन्द्रका केन्द्रीय सदस्य नै प्रदेशको नेतृत्वमा आउन खोजेपछि कार्यकर्ताका बीचमा असन्तुष्टि पैदा भएकाे थियो । विवाद बढेपछि नेतृत्वको सल्लाहमा अध्यक्षका आकांक्षी हेमराज भण्डारी, इन्द्रबहादुर आङ्वो र सुरेश किरातीले अध्यक्ष नबन्ने सहमति जनाएका थिए । उनीहरूले बैठकमा अध्यक्षको दौडबाट बाहिरिएको बताएसँगै अरू तीन अध्यक्षका आकांक्षी थपिएका छन् ।
 
प्रदेश अध्यक्षमा अहिले सुनसरीका सहइन्चार्ज रहेका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका सहइन्चार्ज रहेका हर्कबहादुर नेम्वाङले अध्यक्षको दावी गरेका छन् ।

यस्तै प्रदेश समितिको उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी, झापाका सिपी कडरिया र मोरङका भोगेन्द्र यादवले दावी गरेका छन् । 

प्रदेश समितिको सचिवमा मोरङका गणेश उप्रेतीको दावेदारी देखिएको छ । कोषाध्यक्षमा भने सुनसरीका मदन चुँडाल र मजदुरबाट भानु मैनालीले दावी गरेका छन् । मैनाली कोषाध्यक्ष नभए सहसचिवमा उम्मेदवारी दिने बताउँछन् ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ८:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया