नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।
निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार २१२० मत गन्दा थापाले १३८५ र विश्व प्रकाशले ८५१ मत ल्याएर अग्रता कायम राखेका हुन् ।
उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१ र मिनेन्द्र रिजालले ३६५ मत ल्याएका छन् । यस्तै, राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।
मतगणना तीन स्थानमा सुरु गरिएको छ । ६ घण्टाभित्र मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भएर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।