कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएका हुन् । थापाले सभापतिको प्रत्यासी शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिए हुन् । 

थापाले ३ हजार २३ मत ल्याए भने शर्माले १ हजार ९ सय ८४ मत ल्याए । कांग्रेसको निर्वाचन समितिले अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने गरेको छैन । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

महामन्त्रीका लागि थापा र शर्मासहित प्रकाशशरण महत, प्रदीप पौडेल, मीनेन्द्र रिजाल र राजाराम कार्कीले उम्मेदवारी दिएका थिए । थापा र रिजाल शेखर प्यानलबाट र शर्मा सिंहको प्यानलबाट महामन्त्रीमा लडेका हुन् भने प्रकाशशरण र प्रदीप सभापति निर्वाचित शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका हुन् । राजाराम भने स्वतन्त्र उम्मेदवार हुन् ।

गगनका कुरा

समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापा १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवारी दिँदा पराजित हुन पुगेका थिए । उनी डा. शशांक कोइराला, अर्जुननरसिंह केसीसँग भिड्दा शशांक १ हजार ४१७ मत ल्याएर विजयी हुन पुगेका थिए । थापाले ५८४ मत मात्रै ल्याएका थिए । 



पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए भने पछि सदस्य सचिव हुँदै सभापति बने । २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो ।

उनी ६२/६३ को जनआन्दोलनमा पनि अग्र मोर्चा रहेर काम गरेका थिए । २०४६ सालको जनआन्दोलनमा पनि थापा सक्रिय थिए ।



विश्वप्रकाशका कुरा

विश्वप्रकाशले कांग्रेस पार्टी प्रवक्ता भएर पनि काम गरिसेका छन् ।

विश्वप्रकाश र गगनबीच ०५३ को स्ववियु निर्वाचनदेखि नै निकटता रहेको छ । ०५५ सालमा त्रिचन्द्रमा स्ववियु सभापति बनाउन विश्वप्रकाशले गगनलाई सघाएका थिए ।

विश्वप्रकाश २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन् ।  कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ पूर्वअध्यक्षसमेत हुन् उनी । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १५:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया