नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएसँगै धेरैले अनुमान लगाएका थिए– यसपटक सबैभन्दा बढी मत गगन थापाले पाउँछन् ।
थापाले उम्मेदवारी दिएका थिए महामन्त्री पदमा ।
पहिला सभापति, त्यसपछि उपसभापति र आज महामन्त्री पदको मतगणना सार्वजनिक भयो । सह–महामन्त्री र केन्द्रीय सदस्यहरुको मतगणना हुन बाँकी नै छ ।
हालसम्म मतगणना सम्पन्न भएका तीन पदमा जति पनि उम्मेदवार थिए तीमध्ये सबैभन्दा बढी मत थापाले ल्याएका छन् । अर्थात उनले आम विश्वासलाई डगमगाउन दिएनन् ।
गत सोमबार भएको निर्वाचनमा कूल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले आफ्नो मत प्रकट गरेका थिए ।
खसेको मतमध्ये थापाले ३ हजार २३ मत प्राप्त गरेका थिए । अर्थात खसेको मतको ६४.५६ मत उनी एक्लैले पाएका थिए ।
दुई जना महामन्त्री पदको लागि भएको निर्वाचनमा थापा र विश्व प्रकाश शर्मा विजयी भएका थिए । शर्माले १ हजार ९८४ मत प्राप्त गरेका थिए ।
सभापतिमा विजयी बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले भन्दा पनि बढी मत यसपटक थापाले प्राप्त गरेका छन् ।
सभापतिको लागि भएको पहिलो चरणको निर्वाचनमा देउवाले २ हजार २५८ अर्थात ४८.२५ प्रतिशत मत प्राप्त गरेका थिए । सभापतिको लागि भएको पहिलो चरणको निर्वाचनमा अन्य उम्मेदवार शेखर कोइरालाले १ हजार ७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।
पहिलो चरणबाट विजयी हुन नसकेपछि देउवा दोस्रो चरणको निर्वाचनमा सभापति पदमा निर्वाचित भएका थिए । दोस्रो चरणको निर्वाचनमा देउवा र कोइराला दुइ जना मात्र उम्मेदवार थिए ।
दोस्रो चरणको निर्वाचनमा खसेको ४ हजार ६२३ मतमध्ये देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए । अर्थात खसेको मतमध्ये ५९.११ प्रतिशत मत पाएका थिए । कोइरालाले भने १ हजार ८५५ मत ल्याएका थिए ।
दुई जना उपसभापति पदको लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए । विजयी भएका खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।