प्रचण्डपथको कार्यदिशालाई छोड्नु गम्भीर गल्ती : जनार्दन शर्मा

अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन्  । 

प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ छ । यसलाई केही पनि होइन जस्तो गरी फ्याँक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए । 

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे । माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रूपमा अस्पष्ट भएको उनले बताए । उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गरे । 

‘हामीसँग भएको विचार, हामीले प्रचण्डपथ, २१ औँ शताब्दीको जनवादको जो संश्लेषण गरेका थियौँ । त्यसको सही सदुपयोग र कार्यान्वयन गर्ने कुरामा, नयाँ सन्दर्भमा त्यसलाई विकसित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हापी दियौँ । मानौँ त्यो केही पनि थिएन । त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरूको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरूलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याकिदियौँ । पार्टी केन्द्रीय समितिले गम्भीर गल्ती गर्यो ।'

उनले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताको पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने आवश्यकता औँल्याए । देशमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै उत्पादन र आत्मनिर्भरताको नेतृत्व गर्नु तथा श्रमको संस्कृति बसाल्नुपर्नेमा उनले जोड दिए 





  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १७:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया