गगन थापाले भने - कांग्रेसभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परालाई अब भत्काउने हो

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउने बताएका छन् ।

पार्टीको महामन्त्रीमा निर्वाचित भएसँगै बिहीबार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त रूपमा बोल्दै महामन्त्री थापाले अधिवेशनमा प्रतिस्पर्धाका क्रममा आफ्नै साथीका बीचमा बढेको दूरीलाई कम गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ पार्टीका रूपमा अगाडि बढाउने बताएका हुन् ।

उनले पार्टीमा नजोडिएकालाई पार्टीमा जोड्न प्रेरित गर्ने बताए । महामन्त्री थापाले पार्टीका पदाधिकारीहरू मिलेर पार्टी सभापतिलाई बल पुर्याएर र घच्घचाएर सही ठाउँमा उभ्याउने पनि बताए । उनले आफूसँग एकदिन पनि चुक्ने सुविधा नरहेको उल्लेख गर्दै पाएको जिम्मेवारी इमान्दारितापूर्वक र परिपक्व ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पार्टीको राजनीतिक कार्यदिशा, नेपाली कांग्रेस कुनै पनि अलमलमा नरहिकन यसको राजनीतिक बाटो, राजनीतिक लाइन दिने काम महामन्त्रीको हो । त्यसबाट लिखित प्रस्ताव मैले लिएर आएको छु । त्यसकै आधारमा पार्टीलाई अगाडि बढाउने कोसिस गर्छु । जो पदाधिकारी साथीहरू छौँ, हामीहरूले मिलेर सभापतिजीलाई हामीले बल पनि पुर्याउने हो । तागत पनि पुर्याउने हो । घच्घच्याउने पनि हो र सही ठाउँमा उभ्याउने पनि हो, पार्टीले स्पष्ट लाइन लिने कुराको सन्दर्भमा । र महामन्त्रीको अर्को मुख्य काम भनेको पार्टीलाई व्यवस्थापन गर्ने यसको मुख्य काम हो,' उनले भने ।

महामन्त्री थापाले आफूले अघि सारेको ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को कार्यक्रमलाई पार्टीकै कार्यक्रम बनाउन प्रयास गर्ने बताए । उनले पार्टीको बेथितिलाई अन्त्य गर्दै विधानसम्मत् र विधिसम्मत् रूपमा चलाउने बताए । पार्टीभित्र एउटा व्यक्तिले वर्चस्व राख्ने परम्परा बनेको भन्दै उनले त्यस्तो परम्परालाई भत्काउने बताए  ।

'पार्टी सञ्चालन गर्दै गर्दा व्यक्तिको आफ्नो वर्चस्व कायम राख्नेगरी गर्ने जुन परम्पराजस्तो भएको छ, यो परम्परालाई अब हामीले भत्काउने हो । लाखौँ सदस्यहरूको शक्तिलाई राज्यको दोहन गर्नका निम्ति प्रयोग गर्ने होइन, लाखौँ सदस्यको शक्तिलाई समाजमा अनेकन रुपान्तरणका मुद्दाहरूमा सकारात्मक ऊर्जाका रूपमा प्रयोग गर्ने पार्टीका रूपमा यसलाई लिएर जाने प्रयास महामन्त्रीको रूपमा मैले गर्छु’ उनले भने ।



महामन्त्री थापाले नेपाली कांग्रेसका लाखौँ सदस्यलाई समाज रुपान्तरणको मुद्दामा सकारात्मक ऊर्जाको रूपमा प्रयोग गर्ने पार्टीको रूपमा लिएर जाने प्रयास गर्ने बताए ।



  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १८:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया