ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीलाई उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग बन्द हुने हो की भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी छन् ।
बिहीबार उर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग विद्युत् आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै व्यवसायीले उद्योग स्थापना गर्दा विद्युत् नपाएर उद्योग नै नचल्ने हो कि भन्ने शंकारहित भएर उद्योगमा लगानी गर्न आग्रह गरेकी हुन् । उनले विभिन्न उद्योगमा विद्युत् आपूर्तिका समस्या रहेको तर, प्राधिकरणले समस्या समाधानको लागि काम गरिरहेको बताइन् ।
मन्त्री भुसालले सरकारले तत्काल विद्युत् महसुल सस्तो दिन सक्ने अवस्था नभएको बताए । उनले उद्योग सञ्चालनमा विद्युत् गुणस्तर नपुग्ने समस्यालाई प्राधिकरण गुणस्तर क्षमता बढाएर विद्युत् दिने वातावरण बनाउने बताए ।
मन्त्री भुसालले विद्युत उत्पादन उद्योगको क्षमताभन्दा धेरै रहेको बताइन् । उनले उद्योगी व्यवसायी अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिएकाले नेपालमा ऊर्जा खपत गर्ने उद्योग ल्याउनका लागि पहल गर्नसमेत आग्रह गरिन् । उनले उद्योगहरुको हकमा विद्युत महसुल महँगो भएको स्वीकार गरिन् ।
'महँगो भए पनि नेपालमा उत्पादन भए विद्युत नेपालमा नै खपत गर्नुपर्ने अवस्था छ । त्यसैले व्यवसायीले उद्योगमा लगानी गर्दा विद्युत् नपाएर उद्योग बन्द होला कि भन्ने कुनै शंका नगरी उद्योगमा लगानी गर्नु हो । सरकार उद्योगमा विद्युत् दिन तयार रहेको छ । अझ व्यवसायी अन्तर्राष्ट्रिय उद्योगीसँग जोडिएकाले नेपालमा ऊर्जा खपत बढाउने गरी वैदेशिक लगानी ल्याउने पहल गर्नु आवश्यक छ’ उनले भनिन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नु पर्ने बताए । उनले धेरै उद्योगी व्यवसायीको प्राधिकरणको विद्युत् सर्भिस कमजोर भएको गुनासो आएको बताए ।
निर्देशक घिसिङले सर्भिस डेलिभरीका विषयमा प्राधिकरणलाई सम्पर्क गर्न आग्रह गरे । उनले प्राधिकरणका कुनै कर्मचारी कुनै उद्योगमा विद्युत् कटौती गर्ने विद्युत् नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताए ।
घिसिङले नेपालमा विद्युत् महसुल विस्तारै सस्तो बन्दै जाने बताए । उनले विद्युत् महसुल सस्तो बनाउने कुरामा विद्युत् उत्पादकबाट महसुल बढाउन दबाब आउने र उद्योगीबाट घटाउने दबाब आउने गरेको बताए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगले प्राधिकरणको विद्युत गुणस्तर सर्भिस नभएको बताए । उनले स्टिल उद्योगमा विद्युत ५० प्रतिशत गुणस्तरीय सर्भिस नहुँदा समस्या भइरहेको बताए । राति उद्योग सञ्चालन गर्दा विद्युत महसुल सस्तो पर्ने भनेर उद्योग सञ्चालन गर्दा पनि ४० पटकसम्म विद्युत कटौती हुने गरेको उनको भनाइ छ ।
उपाध्यक्ष श्रेष्ठले उद्योग सञ्चालन गरी रहँदा विद्युत् बारम्बार कटौती हुँदा उद्योगले धेरै नोक्सानी भोग्दै आएको बताए । उनले विद्युत गुणस्तरीय नहुँदा सामान गुणस्तरीय उत्पादन नहुने तथा समय त्यतिकै खेर जाने गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।