दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालतले रोक्न आदेश दिएको छ ।
सरकारले लगाएको प्रतिबन्धमाथि परेको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालतकी न्यायाधीश रेखा पालीले स्पा र मसाज केन्द्रमा लगाइएको अकस्मातको प्रतिबन्धले त्यस क्षेत्रमा काम गर्ने हजारौं मानिसहरू प्रभावित हुने भन्दै प्रतिबन्ध रोक्न आदेश दिएकी हुन् ।
‘विपरित लिंगीबीच हुने मसाजमाथिको पूर्ण प्रतिबन्ध मसाज उद्योग नियन्त्रण गर्ने नीतिसँग कुनै सम्बन्ध छैन,’ फैसलामा भनिएको छ । प्रतिबन्ध लगाउनुभन्दा पनि सरकारले मसाज उद्योगमा गैरकानुनी तस्करी र वेश्यावृत्ति छैन भन्ने सुनिश्चितता गर्नुपर्ने फैसलामा जनाइएको छ ।
मसाज हाउस वेश्यावृत्तिको रूपमा रूपान्तरण भएको भन्दै केही महिनाअघि दिल्ली सरकारले प्रतिबन्ध लगाएको थियो । मसाज गर्ने बहानामा गोप्य यौन धन्दा सञ्चालन भएको र त्यस्ता गतिविधिमा एउटा गिरोह नै सक्रिय भएको सरकारले बताउँदै आएको छ ।
तर, मसाज गृह बन्द गर्दा यसले धेरै मानिसको जीविकोपार्जनमा असर गर्ने अदालतको फैसलामा उल्लेख छ । दिल्लीमा दशौं हजार मसाज र स्पा सेन्टरमा लाखौं मानिसले रोजगारी पाएका छन् । तर, मसाजको बहानामा यौन धन्दा चलाएको ती सेन्टरमाथि आरोप लाग्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।