मितेरी पुल बनाउँदै शुक्लागण्डकी र म्याग्दे
फाइल तस्बिर

तनहुँका दुई स्थानीय तह मिलेर मोटरेवल पुल निर्माण थालिएको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको  लागत साझेदारीमा म्याग्दे खोलामा मोटरेवल पुल निर्माण थालिएको हो । दुई स्थानीय तहको लगानीमा बन्ने पुललाई मितेरी पुलको रूपमा निर्माण थालिएको छ ।

शुक्लागण्डकी नगरपालिका–७ टुँडा र म्याग्दे गाउँपालिका-५ साउनेपानी जोड्ने गरी म्याग्दे खोलामा बन्न लागेको मितेरी पुलको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ र म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले शिलान्यास गरे । 

शुक्लागण्डकीका मेयर गुरुङले पुल निर्माणमा भएको साझेदारीले दुई स्थानीय तहमा आपसी सद्भाव र सहअस्तित्व कायम हुने बताए । ‘अब स्थानीय तहले एकले अर्कोलाई सघाउने परिपाटी पनि बसाल्नुपर्नेछ’, उनले भने । पुलले म्याग्दे गाउँपालिकामा उत्पादित कृषि उपजको बजारीकरणमा सघाउने मेयर गुरुङको विश्वास छ । ‘सवारी आउजाउ गर्नलाई त पक्कै सहज हुन्छ नै । कृषि उत्पादन बजार पुर्‍याउन पनि सजिलो हुनेछ पुल बनेपछि’, उनको भनाई छ ।

म्याग्देकी अध्यक्ष रानाले निर्वाचनको बेला जनतासँग गरिएको वाचा पुरा गर्दै गएको बताइन् । ‘विकास निर्माणमा जनप्रतिनिधिसँगै जनताले पनि सहकार्य गर्नुपर्नेछ । स्थानीय सरकारसँग स्रोत साधनको अभावले धेरै काम गर्न चाहेर पनि सकिरहेका छैनौँ’, उनले भनिन् ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पुल निर्माणको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । ठेक्का लगाएको योजना समयमै सम्पन्न नहुँदा गाउँपालिकाले हैरानी भोग्नुपरेको उनको भनाई छ । आन्तरिक स्रोत कम भएकाले म्याग्देले छिमेकी स्थानीय तहसँग सहयोग मागेको उपाध्यक्ष घिमिरेले बताए ।

पुल निर्माणको सम्झौता तीन महिनाअगावै भएको हो । गएको ४ असोजमा पुल निर्माणका लागि कास्यप निर्माण सेवा एण्ड सप्लार्यस काठामाडौँलाई ठेक्का लगाइएको शुक्लागण्डकी नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । आगामी ५ मंसिरमा पुल निर्माण सक्न निर्माण कम्पनीसँग सम्झौता गरिएको उनले बताए ।



दुई करोड १२ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा कास्यप निर्माण सेवाले एक करोड ४० लाख ४३ हजार १४५ रुपैयाँमा ठेक्का लिएको हो । शुक्लागण्डकी र म्याग्देले समान दरमा ७० लाख २१ हजार ५७२ रुपैयाँ पुल निर्माणमा लागत साझेदारी गर्नेछन् ।

बक्स कल्भर्ट डिजाइनको पुल २६.५ मिटर लामो हुने भट्टराईले बताए । बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालीले १० लाख रुपैयाँ सहयोग गरेपछि पुल निर्माणका लागि डीपीआर तयार पारिएको हो ।  



म्याग्दे गाउँपालिकाले सागे खोलामा पनि मोटरेबल पुल निर्माण गर्नलाई व्यास नगरपालिकासँग सहकार्य गर्ने योजना बनाएको छ । 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार ११:३५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया