बेलायतमा पछिल्ला दुई दिनमा कोरोना भाइरसले नयाँ-नयाँ रेकर्ड बनाउन थालेको छ । दुई दिन यता बेलायतमा कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।
बुधबार बेलायतमा ७८ हजार कोरोना भाइरस संक्रमित भेटिएका छन् । त्यस्तै, बिहीबार त्यहाँ ८८ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
यसअघि बेलायतमा यति धेरै संक्रमित एकै दिनमा भेटिएको गत जनवरीमा थियो । त्यहाँ ८ जनवरीमा सबैभन्दा धेरै ६८ हजार ५३ जना कोरोना भाइरस संक्रमित थपिएका थिए ।
त्यति बेला बेलायतमा लकडाउन लगाइएको थियो । बिहीबार चाहिँ यसअघिका सबै रेकर्ड तोडिएका हुन् । इंग्ल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिट्टीले अब बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन निकै रफ्तारमा फैलिन सक्ने चेतावनी दिएका छन् ।
यसअघि बेलायतमा कोरोनालाई नयाँ रेकर्ड बनाउन नदिन बुस्टर डोज कोरोनाभाइरसविरुद्धको खोप लगाउन खोजिएको थियो । बुधबार मात्र बेलायतमा ७ लाख ४५ हजारभन्दा धेरैलाई बुस्टर डोज दिइएको थियो ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाहिँ बेलायतमा नयाँ भेरियन्ट भेटिएपछि लकडाउन हुनसक्ने भन्दै अफवाह फैलिएको बताएका छन् । उनले यसको खण्डन गर्दै बेलायतीहरुलाई सचेत हुन चाहिँ आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।