ललितपुर नगरकाे विकासका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य भएकाे छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य गरी काम गरेको बताएकी छन् ।

शुक्रवार ललितपुर महानगरपालिकाको १०३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरूमा सबै राजनीतिक दलहरूबीच सहकार्य भइरहेको बताएकी हुन् ।

उनले राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरूले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारिन् । 

उनले भनिन्, ‘हामी भिन्नभिन्न विचारको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधि भए पनि यो महानगरपालिकाको विकास गर्ने कुरामा चाहे कला, संस्कृति, सम्पदाको विकास र संरक्षण होस्, चाहे जनशक्तिको विकास गर्ने कुरा होस्, भौतिक पूर्वाधारको विकास होस्, पर्यावरणीय हिसाबले स्वच्छताको कुरा होस् । हामी विभिन्न पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधि छौं । तर, यो ठाउँको विकास र उन्‍नतिको निम्ति यसको संरक्षण र उन्‍नतिको निम्ति हाम्रा कुनै पनि खास मतभेदहरू रहेनन् र रहनु पनि हुन्‍न । हामीले हाम्रो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा आस्था र विचारलाई आफ्नै ठाउँबाट अघि बढाउनुपर्छ भन्ने मान्यतालाई हामी सबैले आत्मसात् गर्‍याैं।’

मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरण लगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा राखिन् । महानगरको विकास र उन्‍नतिका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उनले व्यक्त गरिन् ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १४:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया