उत्तर कोरियामा ११ दिनसम्म सर्वसाधारणलाई नहाँस्न उर्दी
फाइल तस्वीर

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बाग्डोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ ।

किम जोङ उनले सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०औं वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ । सरकारले उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका थिए । अहिले इलको मृत्यु भएको १० वर्षपछि उत्तर कोरियाली नागरिकलाई ११ दिनसम्म शोक मनाउन र खुसियाली व्यक्त नगर्न निर्देशन दिइएको छ ।

‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तरपूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यसअघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् । किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा हृदयघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए ।





  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १५:८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया