नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले ४० प्रतिशत भागवण्डा पाऊँ भनेर हात थाप्न थाल्यौं भने हामी पनि पुरातन, परम्परावादी हुने बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्ताे बताएका हुन् ।
नवनिर्वाचित उपसभापति गुरुङले महाधिवेशनमा आफूहरूले ४० प्रतिशत मत प्राप्त गरेको भए पनि ६०-४० जसरी पहिलेकोझैँ भाग खोज्न नजाने बताए ।
उनले भागबण्डा खोज्दा पार्टीको स्तर गुमेको अनुभवबाट अब पार्टीलाई भागवण्डारहित बनाई पुरातन र परम्परावादी सोच नराख्ने स्पष्ट पारे ।
उपसभापति गुरुङले भने, ‘पार्टीभित्र विधि र पद्धति स्थापित गर्नेहरूले फेरि भागवण्डा खोज्न थाल्यो भने हिजो जसरी ६०-४० को भागवण्डा थियो, बिलो लगाउँदा थिलोथिलो भयो । हाम्रो प्यानलले ४० प्रतिशत लोकप्रिय मत पायो । त्योअनुसार ४० प्रतिशत भागवण्डा पाऊँ भनेर हात थाप्न थाल्यौं भने हामी पनि पुरातन, परम्परावादी भइहाल्छौं । रूपान्तरितवादी होइनौं भन्ने कुरा त्यहीँबाट स्थापित हुन्छ । अब हामी सबै कांग्रेसको सभापति, उपसभापति हो । त्यसको लागि काम थाल्नुपर्छ । भागबण्डा गरेर न्यायोचित व्यवस्थापन हुँदैन । रूपान्तरित गरेर लैजाने सन्दर्भमा हामीले पार्टीभित्र न्यायोचित व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’
उपसभापति गुरुङले भ्रष्टाचारका कारण जनताले सुशासन पाउन नसकेको दावी समेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।