पहिलो पटक फुटबल खेलेका दृष्टिविहीन कुशल भन्छन् - समाजको मानसिकता चिर्न मैदान उत्रियौं
फरकधार / २ पुस, २०७८

पहेँलो स्पोर्ट सुज । निलो जर्सी । आँखामा बाँधिएको सेतो पट्टी । प्रशिक्षकको आवाजको कमाण्डमा मैदानमा गुडिरहेको बललाई गोलको दिशा दिन तम्सिरहेका थिए, कुशल न्यौपाने ।



नामजस्तै कुशलता उनको खेलमा देखिन्थ्यो । तीव्र गतिको बल र कोचको कमाण्डको भरमा कुसलले विपक्षीको पोस्टमा गोल गरे ।

जन्मजात दृष्टिविहीन कुसलको खेलप्रतिको कुशलता देखेर टिमका अन्य साथीहरू पनि जोसमा आइरहेका थिए । कुशलजस्तै उनको टिम पनि कोही जन्मजात दृष्टिविहीन थिए भने कोही दुर्घटनालगायत विभिद कारणले दृष्टि गुमाएका । विपक्षी टिम पनि सबै जना दृष्टिविहीन नै थिए ।



नेत्रहीन संघको आयोजनामा पहिले पटक काठमाडौंको धुम्बाराहीमा दृष्टिविहीनका लागि फुटबल खेल भएको हो । त्यहाँ उनीसहित १० जना खेलाडीले पुटबल खेलेका थिए ।



दृष्टिविहीनका लागि नेपालमा पहिले पटक फुटबल खेलसम्बन्धी पाँचदिने प्रारम्भिक प्रशिक्षण भएको छ । इन्टरनेसनल ब्लाइन्ड फुटबल फेडेरेसनको सहयोगमा नेपालमा दृष्टिविहीनका लागि फुटबल प्रशिक्षण भएको हो । 

खेलपछि बनियाटार बस्ने २२ वर्षीय कुसलसँग हामीले सोध्यौँ- नेपालमा पहिलो पटक दृष्टिविहीनका लागि फुटबल खेल भयो । तपाईंले कस्तो महसुस गर्नुभयो ?

'मलाई मात्रै होइन यतिबेला हामी सबै दृष्टिविहीनलाई धेरै खुसी लागेको छ,' उनको उत्तर थियो, 'फुटबल खेल अरू सामान्य मानिसका लागि सजिलो छ, हामीलाई त्यति नै चुनौतीपूर्ण र चाखलाग्दो छ । बलको स्पिड र कोचको आवाजका भरमा हामीले यो गेम खेलिरहेका छौँ ।'

दृष्टिविहीनका लागि अरू खेलभन्दा फुटबल गाह्रो हुने उनको भनाइ छ । समूहमा खोल्नुपर्ने भएको हुँदा बलको र टिमको साथीको आवाजका भरमा आफूहरूले फुटबल खेलिरहेको उनले सुनाए ।

समाजमा अपांगता भएको व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा परिवर्तन भइसकेको छैन । अहिले पनि दृष्टिविहीनलगायत शारीरिक रूपमा फरक क्षमताका व्यक्तिलाई यिनीहरूले के गर्न सक्छन् भन्ने भावमा हेरिन्छ । उनले समाजमा आफूहरूप्रति हेर्ने यस्तै नजरलाई चिर्नका लागि आफूहरू फुटबल खेलेको बताउँछन् ।

'यो मानसिकतालाई चिर्न र समाज र राष्ट्रलाई हाम्रो पनि प्रतिनिधित्व र सहभागिता हरेक ठाँउमा समान रूपले हुन सक्छ भन्ने सन्देश दिनका लागि पनि हामी आज यो खेल मैदानमा छौँ,' उनीले सुनाए ।

उनले यसलाई आफूहरूको सुरुवातको रूपमा लिएका छन् । उनले राज्यले पनि आफूहरूका बारेमा सोच्न पर्ने धारणा राख्छन् ।

'यो सुरुवाती क्षण हो, हामीले धेरै काम गर्न बाँकी छ । राज्यले पनि खेल जगत र दृष्टिविहीन खेलाडीका लागि सोच्ने बेला आएको छ,' उनले भने ।

उनले दृष्टिविहीनका लागि आवश्यक पर्ने मापदण्ड अनुसारका खेल मैदान नभएको गुनासो गरे । उनले सुगममा केही अवसरहरू सिर्जना हुँदै गरेको अनुभव सुनाउँदै दूरदराजमा आफूजस्ता खेल्ने चाहनेहरूलाई पहुँचयुक्त वातावरण नभएको बताए ।

'अहिले खेलिरहेको मैदान दृष्टिविहीनको मापदण्डअनुसार छैन । तर, पनि हामीले सकेको प्रयास गरिरहेका छौँ । दूरदराजका हामीजस्ता साथीहरूका लागि झन् पहुँचयुक्त वातावरण छैन । यो सबै कुरालाई मध्यनजर गर्दै अझै धेरै काम गर्न बाँकी नै छ,' कुसलले भने ।

उनीहरूलाई सिकाइरहेका प्रशिक्षक सन्देशकृष्ण श्रेष्ठले चुनौती रहे पनि प्रयास गरेको बताए । विभिन्न देशमा दृष्टिविहीनको फुटबल खेल भइसकेको भए पनि नेपाल भने पहिलो पटक प्रयास थालिएको उनको भनाइ छ । उनले पहिलो प्रयासले आत्मविश्वास दिएको बताउँदै अब प्रशिक्षकहरूलाई पनि थप प्रशिक्षणको आवश्यकता रहेको औँल्याए ।

उनी भन्छन्, 'दृष्टिविहीनका लागि यो मेरो पहिले प्रयास हो । त्यसका लागि हामीजस्तो प्रशिक्षकलाई पनि राम्रो तालिमको आवश्यक छ । हामी कोचले राम्रोसँग प्रशिक्षण दिन सक्यो भने दृष्टिविहीनको खेल जगतलाई माथि उकास्न सकिन्छ ।'

नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बूले बिस्तारै सातै प्रदेशमा दृष्टिविहीनका लागि फुटबल प्रशिक्षण सञ्चालन गर्ने बताए ।

'बिस्तारै सातै प्रदेशका स्कुलमा दृष्टिविहीनका लागि फुटबल प्रशिक्षण सञ्‍चालन गर्ने छौँ, विभिन्न संस्थाबाट अहिले हामीलाई राम्रो प्रोत्साहन मिलिरहेको छ । हामीले हाम्रो खेलाडीलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउनका लागि पनि हामीले यो प्रयास थालेको हौँ,' उनले भने ।

अन्तर्राष्ट्रिय कोचसँग समन्वय गर्दै खेलाडीहरूलाई पारा ओलम्पिकसम्म पुर्‍याउने आफ्नो लक्ष्य भएको उनले सुनाए ।

खेलका संयोजक वीरुकमल आगामी दिनका लागि बाटो बनेको बताए । उनले प्रशिक्षणलाई परिमार्जन गरेर अगाडि बढाउने योजना सुनाए ।

'अहिले हामीलाई केही असहज भए पनि आगामी दिनका लागि हामी बाटो बनाएका छौँ । अब प्रशिक्षणलाई थप परिमार्जित गर्न जरुरी छ,' उनले भने ।

भिडियो

तस्विरहरू

 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १८:१३:४६,   अन्तिम अपडेट : पुस २, २०७८ शुक्रबार १८:२८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया