पहिला खोप नपाएर तड्पियौं, अहिले खोप भण्डारण गर्ने ठाउँ नभएर

गएकाे माघ १४ गते नेपालमा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप भित्रियो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप भण्डारणको लागि छुट्टै स्टोर थिएन । यसअघि चलिरहेको नियमित खोप कार्यक्रमकै स्टोरमा उक्त खोप राख्न मिल्यो । त्यही आधारमा खोप अभियान चलाइयो । बाहिरबाट खोप आउने क्रम चलिरह्यो । 

तर, त्यसलाई भण्डारण गर्न भने समस्या देखियो । नेपालसँग रहेको क्षमताभन्दा बढी खोप आउन थालेपछि समस्या देखिएको थियो । यो आजभन्दा दुई वर्ष अघिको कुरा हो । 

खोप भण्डारणको समस्या समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित सातै प्रदेशमा कोल्ड स्टोर बनाउने योजना अघि सारेको थियो । स्वास्थ्य सेवा विभाग परिसरमै कोल्ड स्टोर बनाउनको लागि ३० फागुन २०७६ मा सम्झौता भएको थियो । 

कौशिल बस्नेत-कुँवर जेभी निर्माण कम्पनीले ८ करोड ४० लाख २० हजार ७५३ रूपैयाँमा ठेक्का पाएको थियो । जुन अहिले २० महिना पूरा भइसकेको छ तर, निर्माण कार्य अघि बढ्न सकेको छैन ।
 
नेपालसँग भण्डारण क्षमताको अभाव हुँदा बाहिरबाट आएको खोप पनि स्टोर गर्न सक्ने अवस्था छैन । खोप भण्डार गर्ने ठाउँको अभावमा अहिले बाहिरबाट आएको खोप गाडीमै थन्काउनुपर्ने अवस्था छ । 

टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्ड स्टोरमा २ देखि ८ डिग्रीमा झण्डै ७० देखि ८० हजार लिटर खोप राख्ने क्षमता छ । त्यस्तै देशभरका कोल्ड स्टोरहरूमा एक पटकमा १६ लाख ५० हजारभन्दा बढी खोप स्टोर गर्न सक्ने क्षमता छ । तर, अहिले नेपालमा एक करोड ४० लाख २१ हजार ८३५ मात्रा खोप स्टकमा छ । जुन कोल्ड स्टोरमा नभएर गाडीमा समेत राखिएको छ। 
 
भण्डार गर्ने कोल्ड स्टोरको अभावमा खोपहरू रेफ्रिजेनेरटरसहितको गाडीमै राखिएको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । 

खोप आउने वित्तिकै देशभर वितरण थालिने भएकाले गाडीमा नै धेरै दिन राख्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘अहिले अन्य खोपभन्दा भेरोसेल खोप भण्डारणको लागि समस्या भइरहेको छ । भेरोसेलले ठाउँ बढी ओगटिरहेको छ । अन्य खोप भण्डारणको लागि त खासै समस्या छैन’, उनले भने ।
 
भेरोसेल खोपको हकमा एक भाइलमा जम्मा दुई डोज हुने भएकाले यसले बढी क्षेत्रफल ओगट्ने गरेको उनको भनाइ छ । 



कुन प्रदेशमा कति भण्डारण क्षमता 

सातै प्रदेशमा खोप भण्डारण गर्ने कोल्ड स्टोर बनाइएका छन् । कोरोना महामारीअघि नेपालमा हरेक वर्ष एक करोड डोज खोप लगाइन्थ्यो । 



जसमा क्षयरोगविरुद्धको खोप, निमोनियाविरुद्धको खोप, भ्यागुते, लहरे खोकी, धनुष्टंकार, बिसिजी, गर्भवती महिलालाई दिनुपर्ने टिटी खोप, डिपिटी, हेपाटाइटिस बी, पोलियो, दादुरा, रुबेला, टिटानस लगायतका खोप कार्यक्रम थिए ।

यही खोप भण्डार गर्न पनि धौधौ परिरहेको अवस्था छ । यसमा त्यही पुरानै संरचनामा नयाँ कोभिडविरुद्धको खोप पनि भण्डारण गर्नुपर्ने बाध्यता छ । 

नेपालमा कोरोना महामारी सुरु भएसँगै खोप पाउन मुस्किल थियो । त्यसका लागि नेपालले निकै सास्ती भाेग्नु परेको थियो । तर, अहिले भने खोप जति भने पनि आइरहेको छ । भण्डारण गर्ने क्षमता भने विस्तार हुन सकेको छैन । समस्या भण्डारणमै छ । 

अहिले सातै प्रदेश र केन्द्र गरेर आठ स्थानमा खोप भण्डार केन्द्र छन् । जसमा साढे १६ लाख डोज खोप राख्ने क्षमता छ ।

विराटनगरमा ९३ हजार ७५० डोज खोप राख्ने क्षमताको खोप भण्डारण केन्द्र छ । त्यस्तै पथलैयामा र काठमाडौंमा दुई लाख ८१ हजार २५० डोज राख्ने क्षमताकाे खाेप भण्डारण केन्द्र छ।

यसैगरी पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, र धनगढीमा ९३ हजार ७५० डोजका दरले खोप राख्न सक्ने क्षमता छ । त्यस्तै राष्ट्रिय औषधि प्रयोगशालामा दुई लाख १२ हजार ५०० र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खोप भण्डारणमा तीन लाख डोज खोप राख्न सकिन्छ । 

खोप केन्द्र बन्यो, आवश्यक पूर्वाधार जोडिएन

सातै प्रदेशमा नेपाल सरकारको आर्थिक लगानी र कोभ्याक्स सुविधामार्फत् युनिसेफले मेसिनरी सहयोग गर्नेगरी खोप भण्डारण गृह स्थापना भएका छन् । तीमध्ये दुई ठाउँका खोप भण्डारण गृहमा मात्र खोप भण्डारण भइरहेको छ । बाँकी खोप भण्डारण गृहमा आवश्यक मेसिनरी सामग्री जोड्ने काम भइरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले जानकारी दिए । 

अन्यमा पनि आवश्यक पूर्वाधार जोडेर सञ्चालनमा ल्याउने तयारी भइसकेको उनको भनाइ छ । ‘सबैमा आवश्यक पूर्वाधार जोडेर सञ्चालनमा ल्याउने काम गरिरहेका छौं । विविध कारणले अलिकति ढिलाइ भइरहेको छ’, महानिर्देशक डा. सिंहले भने । 

आठ करोडभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएर निर्माण कम्पनीले भवन सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर, खोप राख्नको लागि आवश्यक पर्ने फ्रिज लगायतका उपकरण जोड्न सकिएको छैन । त्यसका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई जिम्मेवारी दिइएको छ । कतिपय ठाउँमा रेफ्रिजेरेटर, भ्यानसमेत बिग्रिएर थन्किएको अवस्था छ ।
 
धनगढीमा खोप ओसारपसार गर्ने रेफ्रिजेरेटर भ्यान बिग्रिएर डेढ वर्षदेखि थन्किएर बसेको छ । नयाँ खरिदका लागि विभागलाई पटकपटक आग्रह गरिएको थियो । तर, विभागले भने त्यसको वेवास्था गर्दै आएको छ । 

भ्यान नहुँदा सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा लगायतका दुर्गम जिल्लामा खोप लैजान समस्या भइरहेको छ । अहिले खोपलाई ‘कोल्ड बक्स’ मा राखेर ओसारपसार गरेर लैजानुपर्ने बाध्यता रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले बताए । 

विश्व स्वास्थ्य संगठनले ६ देखि ११ महिनासम्मका लागि खोप स्टक राख्नुपर्ने मापदण्ड तोकेको छ। । तर, नेपालमा भने मुस्किलले जम्मा तीन महिनाका लागि खोप भण्डारण गर्न सकिने अवस्था छ। 
 
भण्डारण अभाव हुँदा कोरोना खोपसँगै अन्य खोपलाई पनि भण्डारणको समस्या भइरहेको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत थापाले बताए । 

खोप भण्डारण बनाउने योजना कागजमै सीमित 

टेकुस्थित स्वास्थ्य विभाग परिसरमा दुई वर्षमा सक्नेगरी ८ करोड ४० लाख २० हजार रुपैयाँमा ठेक्का लागे पनि २० महिना पूरा भइसक्याे । सम्झौताअनुसार अबको चार महिनामा आधुनिक खोप भण्डारण केन्द्र बनाइसक्नुपर्छ । तर, काम नै सुरु भएको छैन । 

२०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाएका थिए । २० महिना बितिसक्दा पनि जगसमेत खनिएको छैन। राजधानीबाहिर भौतिक संरचना सम्पन्न भए पनि केहीमा ‘कोल्ड चेन’ जडान भएका छैनन् । तर, राजधानीमै संरचना बनाउने काम अघि बढ्न सकेको छैन । 

काम सुरु गर्न २-३ फिट जग खनेपछि कालोमाटो, बालुवा मिसिएको माटो र पानी भेटिएको थियो । त्यस्तो अवस्था आएपछि माटो परीक्षण गर्नुपर्ने देखियो । त्यसका लागि ठेकेदार कम्पनीले माटो परीक्षणका लागि विभागमा निवेदन दियो । सात दिन पनि नलाग्ने माटो परीक्षणको रिपोर्ट आउन महिनौं लाग्यो । रिपोर्टले संरचना बनाउँदा पछि भासिने सम्भावना रहेको प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढ्न सकेन । 

डिजाइन परिवर्तनका लागि ठेकेदार कम्पनीले विभागमा अर्को निवेदन पेस गर्‍याे । जुन काम अहिलेसम्म पनि हुन सकेको छैन । जसले गर्दा सातै प्रदेशमा संरचना तयार भए पनि राजधानीको भने अर्को डिजाइनसमेत तयार हुन सकेको छैन । 

विभागका महानिर्देशक डा. सिंहले भने प्रक्रिया अघि बढेको बताए । विविध कारणले ढिलाइ भइरहेको भन्दै चाँडै नै निर्माण प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार ९:५५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया