प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशको विजयी सुरुवात

धनगढीमा शनिबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिन भएका खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रदेश नम्बर १ ले कर्णाली प्रदेश माथि १६० रनको फराकिलो जित दर्ता गर्दा लुम्बिनीले बागमतीलाई ७ विकेटले हरायो । 

प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको हो । उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो । कर्णाली प्रदेश ६ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिंङ गरेको प्रदेश १ ले कप्तान रुविना क्षेत्री र अप्सरी वेगमको अर्धशतकको मदतमा २० ओभरमा २ विकेट क्षतिमा १६६ रन बनायो । 

७६ रनको पारी खेलेकी कप्तान क्षेत्रीले १० बलको सामना गर्दा १० चौका प्रहार गरिन् । अप्सरीले ६१ रन बनाउँदा ६२ बलको सामना गर्दै ५ चौका प्रहार गरिन् । प्रदेश १ ले २९ रन अतिरिक्त पाएको पायो । कर्णालीका लागि दिव्या धामीले २ विकेट लिइन् ।
 
प्रदेश १ ले दिएको १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलव ४ ओभरमा ६ रनमा सबै विकेट गुमायो । अघिल्लो वर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सीमित भएको थियो । 

कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक रन हो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक–एक रन बनाउँदा ७ जना खेलाडी भने शून्यमा आउट भए । 

प्रदेश नम्बर १ का लागि अलिशा खडियाले ५ विकेट लिइन् । त्यस्तै, संगीता राईले दुई र सबनभ राईले एक विकेट लिए । ५ विकेट लिएकी अलिशा प्लेयर अफ द म्याच भइन् । 

शनिबार नै फाप्ला क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बागमती प्रदेशमाथि लुम्बिनी प्रदेशले सानदार जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै बागमती प्रदेशले २० ओभरमा ७ विकेट क्षतिमा ७५ रन बनायो । बागमतीका लागि हेलिशा गुरुङले २८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।बागमतीले १५ रन अतिरिक्त पायो । 



लुम्बिनीका लागि मधु डिसीले ३ विकेट र सुस्मिता भुसालले २ विकेट लिए । नेरी थापा र कप्तान सरस्वती जिएमले एक–एक विकेट लिए । 
 
जवाफी ब्याटिङ थालेको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा ३ विकेट क्षतिमा विजय लक्ष्य हासिल गरेको छ । लुम्बिनीलाई जिताउन कप्तान सरस्वती जिएमले सर्वाधिक २९ रन बनाइन् । नितु भण्डारीले १४ रन बनाउँदा टिमले १४ रन नै अतिरिक्त पायो । बागमतीका लागि अस्मिना कर्माचार्य, आरती बिडारी र खुशी डंगोलले एक–एक विकेट लिए । लुम्बिनीका लागि ३ विकेट लिएकी मधु डिसी प्लेयर अफ द म्याच भइन् ।  

प्रतियोगिताको दोस्रो दिन अर्थात् भोलि पनि दुईवटा खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । 



नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको यसअघि सुदूूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उद्घाटन गरेका थिए । 

प्रतियोगिता पुस  ११ गतेसम्म सञ्चालन हुनेछ । 
मुलुकका ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइँदै छ । 

समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, कर्णाली प्रदेश र समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । 

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेस्ट बलरले १५ हजार तथा बेस्ट ब्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १८:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया