[ब्लग] खै हाम्रो न्याय चेत ?

सरकारले देशभर लैंगिक हिंसा विरुद्धको दिवस अभियान मनाइरहँदा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा भने मानिसक रूपमा विक्षिप्त भएर धनगढी विमानस्थलमा छटपटाइरहेका थिए । 

यता, राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई आत्मनिर्भर र स्वभिमान बनाउनुपर्ने भाषण दिँदा निर्मलाकी आमा दुर्गादेवी पन्तको चटपटे पसल बन्द भएको ४ महिना बितेको थियो ।

हुन त यी संयोग मात्रै होलान् । तर, यी दुई संयोगले देशमा विद्यमान न्यायको अवस्था चित्रण गर्छन् । निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई आज (आतइतबार) उपचारका लागि काठमाडौं ल्याइएको छ । मानिसक स्वास्थ्यमा गडबडी देखिएपछि उनलाई परिवार र अधिकारकर्मीको सहयोगमा काठमाडौं ल्याइएको हो । 

पहिलोपटक गत १० भदौमा पन्त दम्पती (यज्ञराज र दुर्गादेवी) लाई कञ्चनपुरमा भेट्दा उनीहरूको अनुहारमा न्याय पाउने आशासँगै झल्किन्थ्यो, न्यायका लागि लड्ने हिम्मत ।

भदौको अन्तिम साता न्याय माग्न काठमाडौं आइपुगेका पन्त दम्पतीले ‘छोरीलाई न्याय देऊ’ भनेर प्रधानमन्त्रीसँग मात्रै होइन, सिंगो देशसँग आग्रह गरे । नभन्दै, देशैभर ‘निर्मलाका निम्ति न्याय’ भन्ने लहर चल्यो ।

झन्डै एक हप्ता लामो काठमाडौं बसाइपछि गृहजिल्ला कञ्चनपुर पुगेका पन्त दम्पतीले न्यायको लडाइँ जारी राख्दै कञ्चनपुर जिल्ला प्रशासनअगाडि धर्ना सुरु गरे । २५ कात्तिकबाट सुरु भएको धर्ना कार्यक्रम ८ मंसिरमा आएर रोकियो । 



धर्नामा बसेका यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखियो । मानिसक समस्यापछि उनलाई पागलसमेत भन्न थालियो । छोरीको न्यायका लागि एउटा पिता ‘पागल’ बन्नुपर्ने विडम्बना कसरी सिर्जना भयो ? उनलाई ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर’ (पिटियसडी) भएको हुनसक्ने चिकित्सकको आशंका छ ।

९ मंसिरमा पन्त दम्पती दोस्रोपटक काठमाडौं आइपुगेको छ । तर, यसपटक यो जोडी न्यायका लागि होइन, उपचारका लागि आएको हो । अघिल्लोपटक काठमाडौं आउँदा छोरीको न्यायका लागि बुलन्द आवाज उठाउने दुर्गादेवी यसपटक भने निराश देखिइन् । 



उनको अनुहारमा यसपटक न्यायभन्दा धेरै पतिको स्वास्थ्यलाभको कामना देखिन्थ्यो । छोरीको न्यायका लागि दिनरात नभनी लडिरहेकी दुर्गादेवीमाथि पतिको उपचार गर्नुपर्ने अर्को भार थपिएको छ । यतिखेर दुर्गा न्यायको लडाइँ र उपचारमध्ये एउटा रोज्नुपर्ने कठिन अवस्थामा देखिन्छिन् । 

दुर्गाको काँधमा आइपरेको यो भार अब सारा देशवासीले बाँड्नुपर्ने समय आएको छ । अर्कोपटक कुनै यज्ञराजले मानसिक विक्षिप्ततामा पुग्न नपरोस् भन्नका लागि पनि हामीले दुर्गासँगै न्यायको लडाइँ लड्नुपर्छ । अपेक्षा गरौँ, यज्ञराजले न्याय र उपचार एकैसाथ पाउनेछन् ।  

शिक्षण अस्पतालको प्रांगणमा पत्रकारमाझ घेरिएका यज्ञराज पन्तले यसपकट कुनै भावुक भाषण दिएनन् । बरु, मिडियासामु ङिच्च मुस्कुराए । अघिल्लोपटक काठमाडौं आउँदा ‘कि गोली ठोक, कि न्याय देऊ’ भन्दै उनले सरकारलाई गम्भीर प्रश्न गरेका थिए, ‘म पनि यही देशको नागरिक हुँ कि होइन ?’ उनको प्रश्नको जवाफ अझै सरकारले दिएको छैन । दुर्भाग्य, आफ्नो प्रश्नको जवाफ नपाउँदै उनी बिरामी परेका छन् ।

‘न्याय पाउन कसैले मानसिक स्वास्थ्य नै गुमाउनुपर्ने हो ?’ प्रश्न अनुत्तरित छ । यज्ञराजको अवस्थाले अहिले धेरै मानिस सरकार र सत्ताप्रति आक्रोशित छन् । ‘अपराधी पक्रिँदा सरकार ढल्छ’ भन्ने अभिव्यक्ति दिनेहरूको मानसिक अवस्था बिग्रेको हो कि, न्याय माग्नेहरूको ?

पूर्वमन्त्री, मन्त्री र सांसदको उपचारमा करोडौँ खर्चने सरकारले यज्ञराजको उपचारका लागि अहिलेसम्म केही निर्णय गरेको छैन । अधिकारकर्मी र नागरिक अगुवाहरू भने सरकारले उपचार खर्च नदिए नागरिकसँग पैसा उठाएर भए पनि पन्तको उपचार गर्ने प्रतिबद्धता जाहेर गर्दै छन् ।

निर्मलाको मुद्दालाई सरकारको ‘लिटमस टेस्ट’का रूपमा हेरिएका वेला निर्मलाका बुबाको मानसिक स्वास्थ्य बिग्रनु अनि सरकारले लैंगिक हिंसा विरुद्धको दिवस मनाउनु संयोग मात्रै होइन । यज्ञराजको स्वास्थ्यमाथि खेलबाड गरेर, उनको न्यायको अधिकार कुन्ठित गरेर सत्ताले आफ्नो निकृष्ट ‘शक्तिको रवाफ’ देखाएको छ । 

यसले हाम्रो ‘न्याय’ चेतमाथि पनि प्रश्न गरेको छ । यो प्रश्नको जवाफ खोज्न हामी कटिबद्ध हुनैपर्छ, ता कि कोही बुबाले अब न्यायको लागि आफ्नो मानिसक स्वास्थ्य धरापमा राख्न नपरोस् ।

  • प्रकाशित मिति : मंसिर ९, २०७५ आइतबार २१:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया